जनता टाइम्स

३ बैशाख २०८३, बिहीबार १८:०५

प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समितिका सभापतिका लागि मनोनयन दर्ता, अधिकांश समितमा एकल उम्मेदवारी 


काठमाडौं, वैशाख ३ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ। संघीय संसद् सचिवालयले तोकेको समयसीमाभित्र बिहीबार सबै समितिका सभापति पदका लागि उम्मेदवारी दर्ता भएको हो।

सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी तथा राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ।

 

त्यसैगरी सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीको मनोनयन दर्ता भएको सचिवालयले जनाएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भने प्रतिस्पर्धा देखिएको छ। उक्त पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ओजस्वी शेरचन र नेकपा (एमाले) का गुरु बरालले उम्मेदवारी दर्ता गराउनुभएको छ।

संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ। यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) को मनोनयन दर्ता भएको छ।

संघीय संसद् सचिवालयका अनुसार शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकमा मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ र त्यसपछि सभापति निर्वाचित भएको घोषणा गरिनेछ।