काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री बालेनद्र साहले प्रदेशका मुख्यमन्त्रीहरूसँग पहिलो पटक सामूहिक छलफल गर्नुभएको छ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि मुख्यमन्त्रीहरूसँग उहाँको यो पहिलो संयुक्त बैठक हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएकाे बैठकमा विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठकमा राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको छ। संघीय संरचनाअनुसार विकास आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्यलाई प्राथमिकतामा राखिएको बताइएको छ।
बैठकमा प्रदेश सरकारहरूले सामना गरिरहेका बजेट कार्यान्वयन, प्रशासनिक जनशक्ति व्यवस्थापन तथा पूर्वाधार निर्माणमा देखिएका चुनौतीहरूबारे समेत छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्री साह नेतृत्वको सरकारले सार्वजनिक सेवा सुधार, प्रशासनिक चुस्तता र विकासलाई तीव्रता दिने १०० बुँदे सुधार एजेन्डा अघि बढाइरहेका बेला मुख्यमन्त्रीहरूसँगको यो बैठक भएकाे हाे । बैठकमा ती एजेण्डाका बारे पनि छलफल भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्