जनता टाइम्स

३ बैशाख २०८३, बिहीबार २०:२२

हदभन्दा बढी सम्पत्ति रहेकाे गृहमन्त्री सुधन गुरुङको स्वीकारोक्ति, अंशबण्डा नभएकाेले बढी देखिएकाे टालटुले जवाफ 


काठमाडौं, वैशाख ३ । गृहमन्त्री सुधन गुरुङले दाजुभाइबीच अंशवण्डा हुन बाँकी रहेकाले आफ्नो सम्पत्ति विवरणमा बढी सम्पत्ति देखिएको बताउनुभएको छ। तर परिवारका सदस्यको नाममा समेत कानुनी हदभन्दा बढी जग्गा देखिएपछि उहाँकाे परिवार माथि कारबाहीको प्रश्न थप गम्भीर बनेको छ।

बिहीबार पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले अंशवण्डा नभएकै कारण सम्पत्ति बढी देखिएको दाबी गर्नुभयाे । उहाँले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणअनुसार धनकुटामा १९ रोपनी १५ आना तथा गोरखामा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ। साथै ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर, पैतृक सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरणमा जनाइएको छ। ‘हामी दाजुभाइबीच अंशवण्डा नै भएको छैन, त्यसैले बढी देखिएको हो,’ उहाँले भन्नुभयो।

यद्यपि, अंशवण्डा नभएको दाबी गरिए पनि सम्बन्धित जग्गा जुन व्यक्तिको नाममा दर्ता छ, कानुनी रूपमा स्वामित्वको जिम्मेवारी पनि सोही व्यक्तिमा पर्ने कानुनी व्यवस्था छ। यस कारण गृहमन्त्री गुरुङ वा उहाँका परिवारका सदस्यको नाममा हदभन्दा बढी जग्गा रहेको पुष्टि भएकाेले कारबाहीको दायरामा पर्न सक्ने अवस्था देखिएको छ। यस विषयले अहिले राजनीतिक र कानुनी बहसलाई तीव्र बनाएको छ।