जनता टाइम्स

४ बैशाख २०८३, शुक्रबार ०७:३५

हत्या आरोपमा बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ


काठमाडौं, वैशाख ४ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार उहाँलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरिएको हो। ‘ज्यानसम्बन्धी मुद्दामा उहाँलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ, मुद्दा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट दर्ता भएको हो,’ शाहीले जानकारी दिनुभयो।

गत वर्ष वैशाख ९ गते कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरस्थित घटियाघाट रोड नजिकै मोटरसाइकलसहित जलेको अवस्थामा हरिकिसन रानाको शव फेला परेको थियो। उक्त घटना सडक छेउमै भएकाले दुर्घटना वा हत्या भन्ने विषयमा प्रहरीले सुरूदेखि नै अनुसन्धान गरिरहेको थियो।

मृतक हरिकिसन रानाकी पत्नी फिरियादेवीले उपाध्यक्ष नाथविरुद्ध योजनाबद्ध रूपमा धम्की दिएको, आर्थिक लेनदेनका लागि दबाब सिर्जना गरेको तथा ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै किटानी जाहेरी दिनुभएको थियो।

जाहेरीमा कृषि अनुदान दिलाउने बहानामा मृतकसँग ठूलो रकम असुल्ने प्रयास गरिएको र रकम नदिएपछि पटक–पटक ज्यान मार्ने धम्की दिइएको उल्लेख छ। सोही आधारमा उपाध्यक्ष नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल रानाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

उता, प्रहरी नियन्त्रणमा रहनुभएकी उपाध्यक्ष शान्ति नाथको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा भर्ना गरिएको छ।