काठमाडौं, वैशाख ४ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ । जन्मदिने आमाप्रति कृतज्ञता व्यक्त गर्दै मीठा–मीठा खानेकुरा खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद थाप्ने परम्परासहित यो पर्व मनाउने गरिन्छ ।
शास्त्रीय मान्यताअनुसार पण्डित, आचार्य र पिताभन्दा पनि आमा ठुली मानिने भएकाले उहाँप्रति विशेष श्रद्धा, भक्ति र आदर प्रकट गर्ने दिनका रूपमा यस पर्वलाई लिइन्छ । आजको दिन सन्तानहरूले बिहानै नुहाई धुवाइ गरी आमालाई सम्मानपूर्वक लुगा तथा मिठा परिकार अर्पण गर्दै उहाँको आशीर्वाद लिने चलन छ ।
आमा नभएका व्यक्तिहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गरी पुरोहितलाई भोजन गराउने परम्परा रहेको छ । यसरी दिवङ्गत आमाले जीवनमा गरेका त्याग, समर्पण र कष्टलाई सम्झने गरिन्छ ।
सनातन वैदिक शास्त्रमा प्रत्येक व्यक्तिले देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने उल्लेख छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने शास्त्रीय वचनले जन्मदिने आमा र जन्मभूमिको महत्त्व स्वर्गभन्दा पनि उच्च रहेको स्पष्ट पार्छ ।
दिवङ्गत आमाको नाममा आजका दिन श्रद्धा र भक्तिपूर्वक तर्पण, पिण्डदान तथा सिदादान गर्ने प्रचलन छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले सन्तानको स्मरण गर्ने विश्वासका कारण यस दिन गरिने श्राद्धबाट उहाँ प्रसन्न भई आशीर्वाद दिने धार्मिक मान्यता रहेको छ ।













प्रतिक्रिया दिनुहोस्