जनता टाइम्स

४ बैशाख २०८३, शुक्रबार ०८:५९

किर्नेटारमा सडक निर्माण सुस्त, वर्षायाममा पूर्व–काठमाडौं सम्पर्क टुट्ने जोखिम


रामेछाप, वैशाख ४ । रामेछापलाई दोलखा हुँदै काठमाडौँसँग जोड्ने पुष्पलाल राजमार्गअन्तर्गत किर्नेटार क्षेत्रमा तामाकोसी नदीले कटान गरेको सडक निर्माण कार्य सुस्त गतिमा अघि बढ्दा वर्षायाममा पूर्वी नेपालसँगको यातायात सम्बन्ध नै टुट्ने जोखिम बढेको छ।

दुई वर्षअघि तामाकोसी नदीमा आएको बाढीले बगाएको उक्त सडक निर्माणका लागि एक वर्षअघि नै ठेक्का लागे पनि हालसम्म उल्लेखनीय प्रगति हुन सकेको छैन। सडकको एक कुनामा सामान्य बेस बनाउने कामबाहेक अन्य निर्माण कार्य अघि बढ्न नसकेको स्थानीयले बताएका छन्।

हाल बाढीले सडक बगाएपछि तामाकोसी किनारमा ढुङ्गा र बालुवा थुपारेर अस्थायी रूपमा सवारी सञ्चालन भइरहेको छ। तर नदीमा पानीको सतह बढेमा जुनसुकै बेला उक्त अस्थायी सडक बग्ने अवस्था रहेको छ।

पूर्वबाट काठमाडौँ छिर्ने अर्को प्रमुख मार्गका रूपमा रहेको बीपी राजमार्गमा पनि रोशी खोला क्षेत्रमा ठूलो क्षति पुगेको छ। उक्त सडक पनि निर्माणाधीन अवस्थामा रहेको भए पनि निर्माणको गति अत्यन्तै सुस्त रहेको देखिन्छ। रोशी खोलामा अस्थायी डाइभर्सनमार्फत सञ्चालन गरिएको सडक सामान्य बाढी आउँदा समेत पटक–पटक अवरुद्ध हुँदै आएको छ।

बीपी राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गका रूपमा प्रयोग हुने मन्थली–चरिकोट–काठमाडौं सडकअन्तर्गत किर्नेटार खण्डमा समेत आवश्यक ध्यान नदिँदा समस्या झन् गम्भीर बन्ने देखिएको छ। वर्षायाममा पूर्वी नेपालका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर, रामेछाप र सिन्धुली लगायत जिल्लाहरूको राजधानी काठमाडौँसँगको यातायात सम्बन्ध पूर्ण रूपमा अवरुद्ध हुने जोखिम बढेको छ।

करिब ५ सय मिटर क्षेत्रमा सडक निर्माण गर्न सके उक्त मार्ग वर्षभर सहज रूपमा सञ्चालन हुन सक्ने भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम समयमै अघि बढ्न नसकेको गुनासो स्थानीयले गरेका छन्।