जनता टाइम्स

४ बैशाख २०८३, शुक्रबार १५:३५

पहिले आफू नतङ्ग्री सहकार्य र एकताको कुरा निरर्थक : प्रदीप ज्ञवाली 


काठमाडौं, वैशाख ४ । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले पछिल्लो समय उठेको ‘वामपन्थी एकता’ को बहसप्रति असहमति जनाउँदै हालको परिस्थितिमा व्यापक आत्मसमीक्षा र सुधारको आवश्यकता औँल्याउनुभएको छ।

उहाँले कुनै संस्थागत निर्णय नभए पनि मिडियामार्फत ‘वामपन्थी एकता’ को चर्चा सुरु भएकोप्रति ध्यानाकर्षण गराउँदै अहिलेको चुनौती केवल वामपन्थी वा कम्युनिष्ट आन्दोलनमा सीमित नरहेको बताउनुभएको छ। उहाँका अनुसार नेपालले लामो सङ्घर्षपछि हासिल गरेको प्रगतिशील लोकतान्त्रिक आधार खुम्चिँदै गएको र सुशानशैली सर्वसत्तावादतर्फ उन्मुख हुने सङ्केत देखिएको छ।

ज्ञवालीले सामाजिक न्यायसहितको लोककल्याणकारी आर्थिक प्रणाली कमजोर बन्दै नवउदारवाद प्रवृत्ति हाबी हुँदै गएको उल्लेख गर्नुभएको थियो। उहाँले स्थापित कानुनी प्रणाली र लोकतान्त्रिक संस्थाहरूलाई छायाँमा पार्दै ‘तिलस्मी नायक’ हरूले समाधान दिने भ्रम समाजमा फैलिएका बताउनुभयो ।

उहाँले यस्तो अवस्थालाई फराकिलो दृष्टिकोणबाट विश्लेषण गर्दै नीतिगत हस्तक्षेप आवश्यक रहेको बताउनुभयो। अहिले वामपन्थी दलहरू मात्र नभई सबै राजनीतिक शक्तिहरू आत्मसमीक्षाको चरणमा रहेको भन्दै एमालेदेखि विभाजित भएर बनेका विभिन्न समूहसम्मले पनि आ–आफ्ना चुनौती भोगिरहेको उहाँको भनाइ छ। ‘समस्या एउटै छैन र समाधान पनि एउटै हुन सक्दैन,’ भन्दै ज्ञवालीले पहिलो प्राथमिकता सङ्कटको गम्भीरता बुझ्ने, आत्मसमीक्षा गर्ने र संगठनात्मक सुधार तथा पुनर्गठनको प्रक्रिया अघि बढाउनु रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार दलहरू आफूभित्र मजबुत नभई हुने एकता वा सहकार्यका प्रयासहरू प्रभावकारी नहुने र यस्ता बहसहरू बौद्धिक अभ्यासमै सीमित रहने खतरा रहन्छ। त्यसैले अहिलेको मुख्य आवश्यकता आत्ममन्थन, सुधार र संगठन सुदृढीकरण रहेको उहाँले जोड दिनुभएको छ । ‘पहिले आफू तङ्ग्रिए पछि मात्रै सार्थक विमर्श र विषयगत सहकार्यको अर्थ हुन सक्छ’, ज्ञवालीको स्पष्ट धारणा छ ।

‘अन्यथा यस्ता छलफल या त बौद्धिक विलासितामा सीमित हुन्छन्, या आफ्नो घरभित्रका समस्या छिमेकतिर सारिदिने दाउपेचमा रूपान्तरित हुन जान्छन्, अहिलेको खाँचो आफैभित्र नियाल्ने, मन्थन गर्ने र सुधार गर्ने हो’, ज्ञवालीले प्रष्ट दृष्टिकोण राख्नु भएको छ ।