काठमाडौं, वैशाख ४ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र संयुक्त समितिका गरी १२ वटै समितिले शुक्रबार सभापति पाएका छन्। अधिकांश समितिमा सहमतिका आधारमा निर्विरोध चयन भएको छ भने दुई समितिमा भने निर्वाचनमार्फत सभापति चयन गरिएको हो।
प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये ९ वटा र संयुक्त एक समितिमा सभापति निर्विरोध चयन भएका हुन्। प्रतिनिधि सभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी चयन हुनुभएको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिमा रहवर अन्सारी निर्विरोध चयन हुनुभएको छ। संयुक्ततर्फ प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ।
उता, प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र ‘राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समिति’ मा भने निर्वाचन भएको छ। शिक्षा समितिमा रास्वपाकी डा. ओजस्वी शेरचन र नेकपा एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुँदा शेरचन निर्वाचित हुनुभएको छ। त्यस्तै, संयुक्त समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीकी मदनकुमारी शाह (गरिमा)बीच प्रतिस्पर्धा हुँदा कार्की निर्वाचित हुनुभएको छ।
निर्विरोध चयन भएकामध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहेका छन्। खड्का भने नेपाली कांग्रेसका सांसद हुनुहुन्छ ।
शुक्रबार बसेका सबै समितिका बैठकमार्फत सभापति चयन भएसँगै संसदीय समितिहरूले अब नियमित रूपमा आफ्नो कार्यसम्पादन अघि बढाउने भएका छन्।













प्रतिक्रिया दिनुहोस्