काठमाडौं, वैशाख ५ । नेकपा एमालेका नेता गाेकुल बास्काेटाले सामान्य सामाजिक वा व्यक्तिगत झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक मानिए पनि राजनीतिक विवाद भने न्यायिक प्रक्रियाबाट मात्रै समाधान नहुने धारणा व्यक्त गर्नु भएको छ। दलहरूबिचको विवाद मूलतः विचार, नेतृत्व र शक्ति सन्तुलनसँग जोडिएको हुने भएकाले यसको दीर्घकालीन समाधान कानुनी निर्णयभन्दा पनि राजनीतिक सहमति र नियतमै निर्भर रहने उहाँको धारणा छ ।
पछिल्लो समय नेपालमा देखिएको राजनीतिक घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले दलहरूबिचको एकता र विघटनलाई अदालतले स्थायी रूपमा नियन्त्रण गर्न नसक्ने बताउनु भएको छ। उहाँका अनुसार राजनीतिक दलहरूबिच एकता हुँदा उत्साहजनक अवस्था देखिए पनि आन्तरिक द्वन्द्व उत्पन्न भएपछि पुनः अदालतसम्म पुग्ने प्रवृत्ति बढ्दो छ।
विशेष गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता र त्यसपछिको विघटनलाई उदाहरण दिँदै उहाँले लेख्नु भएको छ, ‘एकता भयो, विवाद बढ्यो, अदालत पुगियो, अदालतले निर्णय पनि दियो, तर त्यसले स्थायी समाधान दिन सकेन।’ अदालतको फैसलापछि पनि दलभित्रको अविश्वास र शक्ति संघर्ष अन्त्य हुन नसक्दा पार्टी ‘झर्याम झुरुम’ सिसाजस्तै चकनाचुर भएको उहाँले स्मरण गर्नु भएको छ ।
राजनीतिक एकता कानुनी प्रक्रियाले नभई साझा दृष्टिकोण, विश्वास र नेतृत्वको नियतले निर्धारण गर्ने विश्लेषण प्रस्तुत गर्दै उहाँले राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । अदालतले संरचना मिलाइदिन सक्ने भए पनि मन मिलाइदिन नसक्ने उहाँको धारणा छ । कांग्रेस रबरजस्तो लचिलो बन्ने कि सिसाजस्तो चकनाचुर हुने ? भन्ने प्रश्न अहिलेको राजनीतिक प्रश्न भएको उहाँको धारणा छ ।
दीर्घकालीन स्थायित्वका लागि दलहरूले कानुनी लडाइँभन्दा पनि आन्तरिक लोकतन्त्र, पारदर्शिता र विश्वासको वातावरण निर्माणमा ध्यान दिन आवश्यक रहेको उहाँको विश्लेषण छ । त्यसो नगरे राजनीतिक एकता क्षणिक हुने र विघटनको चक्र दोहोरिइरहने बास्काेटाकाे चेतावनी छ ।













प्रतिक्रिया दिनुहोस्