जनता टाइम्स

५ बैशाख २०८३, शनिबार ०९:१४

सडक आश्रितको उद्धारका लागि कल सेन्टर स्थापना भएकाे छ,  तपाईँकाे एउटा फोनले कसैकाे जीवन बदल्न सक्छ : सुनिता डंगोल


काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिका की कार्यबाहक मेयर सुनिता डंगोलले सडक आश्रित नागरिकहरूको उद्धार तथा पुनर्स्थापनाका लागि सञ्चालनमा ल्याइएको कल सेन्टरको प्रभावकारी उपयोग गर्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ।

उहाँले सार्वजनिक अपिल जारी गर्दै अझै पनि सडकहरूमा धेरै आमा–बुबा, दिदीबहिनी र दाजुभाइहरू विभिन्न कारणले खुला आकाशमुनि जीवन बिताउन बाध्य रहेको बताउनुएकाे छ। परिवारबाट टाढा हुनु, मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा तथा आर्थिक अभावजस्ता कारणले नागरिकहरू सडकमा बस्न बाध्य भएको उहाँको भनाइ छ। ‘सबै नागरिकले सुरक्षित घर, सम्मान र मर्यादित जीवन पाउनुपर्छ,’ भन्दै उहाँले महानगरले यसै उद्देश्यसहित मानव सेवा आश्रम सँग सहकार्य गरेर सडक आश्रित नागरिकहरूको उद्धार अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

उक्त अभियानलाई थप छिटो र प्रभावकारी बनाउन महानगरपालिकाले कल सेन्टर सेवा सुरु गरेको पनि उहाँले जानकारी दिनुभएकाे छ। सडकमा सहयोग आवश्यक परेका व्यक्तिहरू देखिएमा ०१-५९७९८८२ नम्बरमा फोन गरेर जानकारी गराउन महानगरले आग्रह गरेको छ।

कार्यबाहक मेयर डंगोलका अनुसार नागरिकको एउटा फोनले सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिको जीवन परिवर्तन गर्न सक्नेछ। ‘हामी नै त्यो पुस्ता बनौँ, जसले वास्ता गर्छ,’ उहाँले अपिल गर्नुभएकाे छ ।

महानगरले सडक मानवमुक्त सहर बनाउने लक्ष्यसहित विभिन्न चरणमा उद्धार, उपचार र पुनर्स्थापनाका कार्यक्रम अघि बढाउँदै आएको छ।