जनता टाइम्स

५ बैशाख २०८३, शनिबार १२:०१

‘झोलामा औषधि, मनमा सेवा’ : डा. उत्तम गैरेको घरदैलो अभियानले बदलिँदै गाउँकाे स्वास्थ्य चेतना


रामेछाप, वैशाख ५। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापमा कार्यरत डा. उत्तम गैरे छोटो समयमै जिल्लावासीको मन जित्न सफल हुनुभएको छ। उहाँको परिचय कुनै पद, प्रतिष्ठा वा प्रचारले होइन, निस्वार्थ सेवाभावले बनेको हो।

उहाँका लागि स्वास्थ्य सेवा केवल पेसा होइन-यो नागरिकप्रतिको जिम्मेवारी र मानवीय कर्तव्य हो। यही सोचले प्रेरित भएर उहाँ हरेक हप्ता सानो झोला बोकेर सहयाेगीहरुकाे साथमा गाउँ–गाउँ पुग्नुहुन्छ। झोलाभित्र केही औषधि, रक्तचाप नाप्ने उपकरण (स्फिग्मोम्यानोमीटर) र मधुमेह जाँच्ने ग्लुकोमिटर हुन्छन्, तर त्यो झोलामा सबैभन्दा ठूलो कुरा हुन्छ-सेवाको भावना।

अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, नियमित स्वास्थ्य जाँचको महत्वबारे अनभिज्ञ गाउँले र सामान्य उपचारबाट वञ्चित परिवारका लागि उहाँ आशाको दियो बन्नुभएको छ। डा. गैरे गाउँमा पुग्दा ‘डाक्टर’को दूरी बोकेर होइन, आफ्नै छोराझैँ आत्मीयताका साथ पुग्नुहुन्छ। गाउँको चौतारो, घरको पिँढी वा बिरामीको ओछ्यानमै बसेर उहाँले स्वास्थ्य परीक्षण गर्नुहुन्छ, आवश्यक परामर्श दिनुहुन्छ र निःशुल्क औषधि वितरण गर्नुहुन्छ।

कुनै बिरामीलाई थप उपचार आवश्यक देखिएमा उहाँले चिकित्सालयमै आउन सल्लाह दिनुहुन्छ। यसरी घरदैलोमै पुगेर सेवा दिँदा स्थानीयले सहजता मात्रै महसुस गरेका छैनन्, स्वास्थ्यप्रतिको चेतनामा पनि उल्लेखनीय परिवर्तन आएको छ।

त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट नतिजासहित आयुर्वेद चिकित्सा अध्ययन पूरा गर्नुभएका डा. गैरेमा उत्कृष्टताको कुनै घमण्ड देखिँदैन। बरु उहाँको व्यवहार झनै सरल, नम्र र जनमैत्री छ। यही कारणले उहाँ छोटो समयमै सबैका प्रिय बन्न सफल हुनुभएको हो।

गत माघ महिनादेखि रामेछापमा सेवा सुरु गर्नुभएका उहाँले सुरुवातदेखि नै घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै आउनुभएको छ। चिकित्सालयले सञ्चालन गर्ने आयुर्वेद स्वास्थ्य शिविरहरूमा पनि उहाँको सक्रिय सहभागिता रहँदै आएको छ। बिरामीको सेवा गर्दा आफूलाई विशेष सन्तुष्टि र आनन्द मिल्ने उहाँ बताउनुहुन्छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कार्कीका अनुसार चिकित्सालयले प्रत्येक हप्ता सञ्चालन गर्ने घरदैलो कार्यक्रममा प्रायः डा. गैरे नै अग्रसर हुनुहुन्छ। “उहाँलाई फिल्डमै गएर सेवा गर्न रुचि छ, त्यसैले प्रायः उहाँ नै जानुहुन्छ,” उहाँले भन्नुभयो।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–५, मैदानमा २०५७ साल असार २ गते जन्मनुभएका डा. गैरे सामान्य परिवारबाट आउनुभएको हो। उहाँका पिता नारायण प्रसाद गैरे शिक्षण पेसामा आबद्ध हुनुहुन्छ भने आमा चित्रकला गैरे गृहिणी हुनुहुन्छ।

गाउँकै श्रीकृष्ण उच्च माध्यमिक विद्यालयबाट एसईई विशिष्ट श्रेणीमा उत्तीर्ण गर्नुभएका उहाँले रुपन्देहीको बुटवलस्थित एभरेष्ट माध्यमिक विद्यालयबाट प्लस टु पनि उत्कृष्ट नतिजासहित पूरा गर्नुभएको थियो। त्यसपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पस, कीर्तिपुरमा बिएएमएस अध्ययन सुरु गरी २०८१ सालमा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएको हो।

सरकारी सेवाको सुरुवात नै रामेछापबाट गर्नुभएका उहाँले सुरुदेखि नै आफूलाई सामाजिक सेवामा समर्पित गर्नुभएको छ। उहाँको यो पहलले केवल बिरामीको उपचार मात्र गरेको छैन, गाउँ–समाजमा स्वास्थ्यप्रतिको चेतना जगाउने अभियानसमेत सुरु गरेको छ।

आज रामेछापका बस्तीहरूमा पुग्ने त्यो सानो झोला, वास्तवमा एउटा ठूलो परिवर्तनको सङ्केत बनेको छ। यदि देशभर यस्तै सेवाभावी चिकित्सकहरूको सङ्ख्या बढ्ने हो भने नेपालको स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास गर्न सकिन्छ।