काठमाडौं, वैशाख ५। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र बृहत्तर एकता आजको आवश्यकता मात्र नभई साझा दायित्व भएको बताउनुभएको छ।
उहाँले पार्टीलाई मजबुत बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिँदै, सभापतिको हैसियतले सबैभन्दा ठूलो भूमिका आफूले खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘पार्टीमा बृहत्तर एकता आजको आवश्यकता मात्र होइन, हाम्रो साझा दायित्व पनि हो,’ उहाँले भन्नुभयो, ‘यसका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु हुन्छ भन्ने विश्वास छ, सभापतिको नाताले सबैभन्दा बढी भूमिका मैले खेल्छु।’
सभापति थापाले समर्पित कार्यकर्तालाई निराश हुन नदिने स्पष्ट पार्नुभयो। कार्यकर्ताको विश्वास जोगाउनु आफ्नो पहिलो कर्तव्य भएको उल्लेख गर्दै उहाँले पार्टीभित्र विश्वासको वातावरण बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘समर्पित कार्यकर्तालाई निराश हुन दिइने छैन, उहाँहरूको विश्वास जोगाउनु मेरो पहिलो कर्तव्य हो,’ उहाँले भन्नुभयो।
पार्टीभित्र देखिएका मतभेद समाधानका लागि संवाद, सहकार्य र समझदारीलाई प्रमुख माध्यम बनाइने उहाँको भनाइ छ। सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो। ‘संवाद, सहकार्य र समझदारीमार्फत सबैलाई मिलाएर लैजान्छु,’ उहाँले थप्नुभयो, ‘यसमा सबैको साथ रहने विश्वास छ।’













प्रतिक्रिया दिनुहोस्