जनता टाइम्स

५ बैशाख २०८३, शनिबार १२:४२

दम्भ र शक्ति प्रदर्शन होइन, पार्टी एकतामा केन्द्रित हुनुपर्छ : कांग्रेस नेता अर्जुननरसिंह केसी


काठमाडौं, वैशाख ५। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै समग्र एकतामा केन्द्रित हुन आग्रह गर्नुभएको छ।

विशेष अधिवेशनको वैधताबारे अदालतबाट टुङ्गो लागिसकेको वर्तमान अवस्थामा अब पार्टीभित्र दम्भ, अहंकार वा शक्ति प्रदर्शनको राजनीति आवश्यक नभएको उहाँको धारणा छ। उहाँले अबको प्राथमिकता स्पष्ट रूपमा पार्टी एकतालाई सुदृढ बनाउनु हुनुपर्ने बताउनुभयो। ‘विशेष अधिवेशन विधिवत् रहेको विषय अदालतबाट टुङ्गो लागिसकेको अवस्थामा अब हाम्रो प्राथमिकता कतैबाट पनि दम्भ, अहंकार वा शक्ति प्रदर्शन होइन, समग्र पार्टी एकतामा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार लोकतान्त्रिक पार्टीमा वाद–विवाद स्वाभाविक भए पनि त्यसलाई संवाद र सहमतिमार्फत समाधान गर्दै सबै पक्षको सम्मान कायम राख्नु आवश्यक छ। आउँदो १५ औँ महाधिवेशनलाई ‘एकता अधिवेशन’ का रूपमा सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

असहमतिमा रहेका पक्षलाई समेत समेट्दै साझा एजेन्डा तय गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले व्यक्तिगत विवादभन्दा विधि, पद्धति र संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने संस्कार विकास गर्न आग्रह गर्नुभयो।

उहाँले वर्तमान चुनौती सामना गर्न सक्षम, सुदृढ र एकीकृत कांग्रेस निर्माण आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। यसका लागि नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई थप सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो।

साथै, असहमतिमा रहेका नेताकार्यकर्तालाई पनि विधि र पद्धतिको सीमालाई आत्मसात गर्दै आन्तरिक लोकतन्त्र सुदृढ बनाउँदै एकताको दिशामा अघि बढ्न आग्रह गर्नुभयो।

देश–विदेशमा रहेका लोकतन्त्रप्रेमी तथा सम्पूर्ण कांग्रेसजनको साझा अपेक्षा पनि पार्टी एकता नै भएको उल्लेख गर्दै उहाँले राष्ट्रियता र लोकतन्त्रको संवर्द्धनका लागि नेपाली कांग्रेसको पूर्ण एकता अपरिहार्य रहेको बताउनुभयो। ‘हामी सबै यही दिशामा केन्द्रित बनौँ,’ उहाँले आह्वान गर्नुभयो।