जनता टाइम्स

५ बैशाख २०८३, शनिबार १२:५८

मरेको कुखुराको मासु खाँदा दुई बालकको मृत्यु


काठमाडौं, वैशाख ५। कैलाली जिल्लामा मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी परेका दुई सहोदर बालकको उपचारका क्रममा मृत्यु भएको छ। घटनाले स्थानीय क्षेत्रमा शोकसँगै खाद्य सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

चुरे गाउँपालिका–३, भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूले बिहीबार मरेको ब्रोइलर कुखुराको मासु सेवन गरेको पाइएको हो।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टका अनुसार दुवै बालक सहोदर दाजुभाइ हुन्। “उपचारका क्रममा शुक्रबार दुवै बालकको मृत्यु भएको हो,” उहाँले जानकारी दिनुभयो।

उक्त घटनामा बालककी आमा २८ वर्षीया राधिका ताम्राकार र उहाँका ३ वर्षीय कान्छा छोरा दिपेश ताम्राकार पनि बिरामी पर्नु भएकाे छ । उहाँहरूको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना बिहीबार भए पनि जानकारी शुक्रबार मात्र प्राप्त भएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको छ।

फार्म सञ्चालक मंगल साउँद आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई कागज गर्नु भएकाे छ। उहाँलाई आवश्यक परेको बेला हाजिर हुने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।