काठमाडौं, वैशाख ५।नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले हालैको निर्वाचनमा भएको पराजयको गम्भीर समीक्षा र पार्टी पुनर्गठनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।
उहाँले पार्टीभित्र यथार्थ मूल्यांकन नगरी अन्यत्र ध्यान मोड्ने प्रयास भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। ‘नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,’ उहाँकाे भनाइ छ।
पार्टीभित्र देखिएको कमजोरी पहिचान गरी सुधारतर्फ अग्रसर नभई बाहिरी बहसमा अल्झिनु उचित नहुने उहाँकाे धारणा छ। उपाध्यक्ष पौडेलले पर्दा पछाडिबाट वामपन्थी एकताको असान्दर्भिक बहस चलाइएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाउनुभएकाे छ । ‘यस यथार्थबाट ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’ उहाँले प्रश्न गर्नुभयो।
उहाँले पार्टीलाई सुदृढ र प्रभावकारी बनाउन आन्तरिक समीक्षा, संगठन सुदृढीकरण र स्पष्ट रणनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएकाे छ।













प्रतिक्रिया दिनुहोस्