जनता टाइम्स

५ बैशाख २०८३, शनिबार २०:०६

रास्वपा सचिवालय बैठक बस्दै, महाधिवेशन तयारीदेखि संगठन विस्तारसम्म ६ एजेन्डामा छलफल हुने 


काठमाडौं, वैशाख ५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

पार्टीको सांगठनिक विस्तार र आगामी महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको छ।

प्रवक्ता झालेका अनुसार बैठकमा विशेषगरी ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत छलफल हुनेछ भने महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय लिइनेछ।

त्यसैगरी पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापन सुदृढ बनाउन बैंक खाता सञ्चालनसम्बन्धी विषय पनि कार्यसूचीमा समेटिएको छ।

पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिने जनाएको छ।

रास्वपाले यसपटक नयाँ अभ्यासका रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई समेत प्राथमिक एजेन्डाका रूपमा अघि सारेको छ।

यसका साथै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवीसम्बन्धी विषयमा पनि बैठकमा विस्तृत छलफल हुने प्रवक्ता झालेले बताउनुभयो।