जनता टाइम्स

६ बैशाख २०८३, आईतवार १६:३०

आन्तरिक एकता बलियो बनाउन देउवा पक्षका नेताहरूको जोड, सानेपाबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह


काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले पार्टीभित्रको आन्तरिक एकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार काठमाडौंमा १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलका क्रममा पार्टी विवादसम्बन्धी विषयमा अदालतबाट फैसला भइसकेको अवस्थामा अब आन्तरिक एकतालाई बलियो बनाउँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरिएको हो । बैठकमा सहभागी नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन अहिलेको अवस्थामा सानेपाबाटै सबै पक्षलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गरिनुपर्नेमा जोड दिनुभयो ।

विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरूको उक्त छलफलले निरन्तर संवाद र छलफलमार्फत पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ ।

बैठकमा पार्टीको विगतको अवस्थाको समीक्षा, हालैका निर्वाचनमा बेहोर्नुपरेको पराजयका कारणहरू तथा आगामी रणनीतिका विषयमा समेत छलफल भएको बुझिएको छ ।