काठमाडौं, वैशाख ७ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान तथा सेवन गर्दै श्रद्धापूर्वक मनाइँदैछ।
शास्त्रीय विधानअनुसार आज बिहानै उठी घर लिपपोत गरी स्नान गरेर पूजा सामग्री तयारीसहित सङ्कल्प गर्ने चलन छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखी भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गर्ने परम्परा रहेको छ।
यस दिन पुरोहितको पूजा गरी शुद्ध जलमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिस्री मिसाएर सर्वत बनाइन्छ भने जौको सातु र सर्वत दान गर्ने वैदिक सनातनी चलन रहेको छ।
धार्मिक विश्वासअनुसार यस दिन गरिएको स्नान, दान, ध्यान, जपलगायतका पुण्यकर्म कहिल्यै नास नहुने उल्लेख विभिन्न पुराणमा गरिएको छ। वैशाखको गर्मीमा जौको सातु र सर्वत अमृतसरह मानिने भएकाले दान गर्नुका साथै स्वयं सेवन गर्ने परम्परा वैदिककालदेखि नै रहिआएको छ।
सातु र सर्वतले गर्मीबाट शरीर जोगाउन सहयोग गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने कामसमेत गर्छ।आजको दिन दान गरिने घडालाई ‘धर्मघटादि दान’ पनि भनिन्छ। यस अवसरमा ज्येष्ठ नागरिकलाई छाता, लौरो, कपडाका जुत्ता दान गर्ने चलन छ।
धार्मिक विश्वासअनुसार सत्ययुगमा आजकै दिन भगवान् शिव र पार्वतीको विवाह भएको मानिन्छ। त्यसैले विवाहका लागि आजको दिन साइत नहेरी शुभ मानिने विश्वास छ। साथै त्रेतायुगको प्रारम्भ पनि आजकै दिनबाट भएको शास्त्रीय मान्यता रहेको छ।
यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गरेको छ। भक्तजनले पूजा, आराधना तथा दर्शन गरी अक्षय तृतीया पर्व मनाइरहेका छन्।













प्रतिक्रिया दिनुहोस्