जनता टाइम्स

७ बैशाख २०८३, सोमबार ०९:५१

कपालमा चायाँ पर्यो भने गर्धन नै छिनाउने ?


काठमाडौं, बैशाख ७ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । बालेन सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत प्रतिक्रियासहित कडा आपत्ति जनाउनु भएको हो ।

ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथिको ठाडै हस्तक्षेप भएको पनि बताउनु भएको छ । विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप भएको छ, उहाँले भन्नुभएको छ ।

ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरूले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न पनि गर्नुभएको छ । ‘पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी हस्ताक्षर गर्न सक्नु भयो होला ?’ ज्ञवालीको प्रश्न छ ।

ज्ञवालीको बिचार जस्ताको तस्तै

विद्यार्थीहरूको स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका गतिविधि, उपस्थिति र अस्तित्वलाई निषेध गर्ने निर्णय चरम अलोकतान्त्रिक हो । अझ यसका लागि विश्वविद्यालयभित्र ‘सुरक्षा युनिट’ स्थापना गर्नु भनेको विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप हो । पञ्चायती निरङ्कुशतामा समेत सरकारले धृष्टता गर्न नसकेको यस्तो विषयमा हस्ताक्षर गर्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूले कसरी सक्नु भए होला ?

निःसन्देह, विद्यार्थी आन्दोलनमा समस्या छन् । आम विद्यार्थीहरूका हित, शिक्षाको गुणस्तर अभिवृध्दि र स्वस्थ शैक्षिक वातावरण निर्माणमा ‘क्याटालिस्ट’ बन्नु पर्ने विद्यार्थी आन्दोलन घरीघरी मूल मुद्दाबाट बरालिएको पनि छ । तर विद्यार्थी सङ्गठनलाई निषेध गर्नु समस्याको समाधान होइन । समाधान त उनीहरूसँग संवाद, रचनात्मक सहकार्य र गुणस्तरीय शिक्षाका लागि विद्यार्थी आन्दोलनको रूपान्तरण हो ।

के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?