जनता टाइम्स

७ बैशाख २०८३, सोमबार १६:२१

बालेनको डोजर आतंकबिरुद्ध उत्रियो जेनजी फ्रन्ट : जनतालाई उठीबास लाएर गाँसबास खोस्ने षडयन्त्र भन्दै जनायो कडा आपत्ति


नागरिकको पीडा र आँसुमा उभिएको सहर कहिल्यै सुन्दर हुन सक्दैन भन्ने तथ्यलाई मनन गर्दै सरकारले आफ्ना कार्यशैलीमा तत्काल सुधार गरी उच्चतम जिम्मेवारी वा जवाफदेहिता देखाओस

काठमाडौं, बैशाख ७ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले देशभर डोजर आतंक मच्चाएर नागरिकमाथि ज्याद्धती बढाएपछि जेनजी फ्रन्टले कडा आपत्ति जनाएको छ ।

पछिल्लो केही दिनयता नेपालका विभिन्न शहरमा ’अनधिकृत संरचना’ खाली गराउने नाममा नागरिकको आवास र अपाङ्गता भएका व्यक्ति समेतको जीउज्यानमाथि अमानवीय, क्रुर र बर्बर दमन भएको भन्दै जेनजी फ्रन्टले आपत्ति जनाएको हो।

सोमबार विज्ञप्ति जारी गर्दै फ्रन्टले जुनसुकै बहानामा पनि नागरिकको आधारभूत आवश्यकता र जीविकोपार्जनको हकलाई कुण्ठित गरिनु कुनै पनि लोकतान्त्रिक राज्यका लागि सह्य नभएको प्रष्ट पारेको छ ।

‘व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, वैयक्तिक स्वतन्त्रता र सुशासनका पक्षमा नेपाल जेन–जी फ्रन्ट सदैव लड्दै आइरहेको छ। पछिल्लो केही दिनयता नेपालका विभिन्न शहरमा अनधिकृत संरचना खाली गराउने नाममा नागरिकको आवास र अपांगता भएका व्यक्ति समेतको जीउज्यानमाथि अमानवीय, क्रुर र बर्बर दमन भएका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जुनसुकै बहानामा पनि नागरिकको आधारभूत आवश्यकता र जीविकोपार्जनको हकलाई कुण्ठित गरिनु कुनै पनि लोकतान्त्रिक राज्यका लागि सह्य कुरा होइन,’ विज्ञप्तिान भनिएको छ ।

फ्रन्टले दशकौंदेखि साना पसल व्यवसाय गरेर गुजारा गरिरहेका न्यून आय भएका व्यापारी र बसोबास गरिरहेका सर्वसाधारणलाई कुनै ठोस विकल्प वा पुनःस्थापनाको व्यवस्था नगरी राज्य आतंक मच्चाएर डोजर चलाउनु राज्यको गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएको छ । आफ्नै देशका नागरिकको आवासमाथि न्यूनतम मानवता पनि नराखी डोजर चलाई सुकुम्बासी बनाउने र गाँसबास खोस्ने कार्यले राज्यको नियतमाथि गम्भीर प्रश्न खडा गरेको निश्कर्ष पनि जेनजी फ्रन्टको छ ।

के सरकारले यी विस्थापित नागरिकको भविष्य र उनीहरूको आर्थिक व्यवस्थापनका बारेमा कुनै योजना बनाएको छ ? घर भत्काइएपछि सिर्जना हुने मानवीय संकटको व्यवस्थापन गर्नु सरकारको प्राथमिक दायित्व हो

‘के सरकारले यी विस्थापित नागरिकको भविष्य र उनीहरूको आर्थिक व्यवस्थापनका बारेमा कुनै योजना बनाएको छ ? घर भत्काइएपछि सिर्जना हुने मानवीय संकटको व्यवस्थापन गर्नु सरकारको प्राथमिक दायित्व हो। साथै, अपांगता भएका व्यक्ति लगायत धेरै मानिसमाथि संघीय र स्थानीय तहका प्रहरीहरूले क्रुर, अमानवीय, अभद्र व्यवहार गरेका तस्वीर र भिडियोहरू सार्वजनिक भइरहेका छन्। त्यस्ता कार्यमा संलग्न सबैलाई कानूनबमोजिम हदैसम्म कारबाही गर्न, नेपालका सबै सुरक्षा संयन्त्रलाई न्यूनतम मानवताका बारेमा प्रभावकारी तालिम दिन र अब आउँदा दिनमा नागरिकमाथि गैरकानूनी दमन नगर्ने लिखित प्रतिबद्धता समेत गर्न हामी नेपालका तीनै तहका सबै सरकारलाई हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

कुनै पनि संरचना हटाउनुअघि त्यहाँ आश्रित नागरिकहरूको लागि उचित विकल्प र वैज्ञानिक व्यवस्थापन सुनिश्चित गर्न मागसमेत गरिएको छ । यस्तै बिज्ञप्तिमा नागरिकलाई तयारीका लागि पर्याप्त समय र सूचना उपलब्ध गराउँदै मानवीय संवेदना सहितको कानूनी प्रक्रिया मात्र अवलम्बन गर्न सचेत गराउन पनि ध्यानाकर्षण गराइएको छ।

‘नागरिकको पीडा र आँसुमा उभिएको सहर कहिल्यै सुन्दर हुन सक्दैन भन्ने तथ्यलाई मनन गर्दै सरकारले आफ्ना कार्यशैलीमा तत्काल सुधार गर्न र उच्चतम जिम्मेवारी वा जवाफदेहिता देखाउन सरकारसँग जोडदाड माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।