काठमाडौं, वैशाख ७ । नेपाली कांग्रेसले गृह मन्त्री सुधन गुरुङको बिचौलियासँग साँठगाँठ र कम्पनीमा साझेदारी भएको विषयमा उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।
कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री माथि लागेका सबै आरोपको छानविन गर्न माग गरेको हो । ‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ- गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्, यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ, नेपाली कांग्रेस सधैँ पारदर्शिता, जबाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिइरहनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको विज्ञप्तिमा स्मरण गराइएको छ। पारदर्शिता र जबाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसकाे धारणा हो। ‘यसै निर्णय र प्रतिबद्धताप्रति नेपाली कांग्रेस दृढ छ’, विज्ञप्तिमा भनिएको छ ।
नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने कांग्रेसकाे प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख रहेको स्पष्ट पारिएको छ।
यस सन्दर्भमा, गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ। ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशङ्का उत्पन्न हुनु स्वाभाविक हो, त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ’, कांग्रेसले भनेको छ ।













प्रतिक्रिया दिनुहोस्