जनता टाइम्स

७ बैशाख २०८३, सोमबार २१:३०

गृहमन्त्री सुधन गुरुङको धम्कीपूर्ण प्रश्न : यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?


काठमाडौं, वैशाख ७ । गृहमन्त्री सुधन गुरुङले बिचौलियासँग साँठगाँठ गरेको विषयमा पार्टीले गरेको निर्णय मान्ने बताउनुभएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट सम्बद्ध कम्पनीमा साझेदारी भेटिएको विषय सार्वजनिकसँग व्यापक आलोचना भए पछि गुरुङले पार्टीको निर्णय मान्ने प्रतिक्रिया जनाउनुभएको हो । तथापि उहाँले आफ्नो बचाउ गर्दै सो कम्पनीको शेयर लिएकै भरमा आफूलाई जोड्न नमिल्ने दाबी गर्नु भएको छ ।  उहाँले आफू संलग्न भएको भन्ने विषयलाई अलि जटिल ढङ्गले प्रस्तुत गरेकोले यसलाई सरल भाषामा बुझ्न तथा हल्ला पछि नलाग्न आग्रह गर्नु भएको छ । ‘यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सम्पूर्ण कारोबार बैङ्किङ च्यानलमार्फत भएको छ’, उहाँले धम्कीको शैलीमा स्पष्टीकरण दिनुभएको छ ।

उहाँले आफूले शेयरमा लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको दाबी पनि गर्नु भएको छ ।र त्यसको लिखित तमसुक रहेको पनि उहाँको भनाइ छ ।

विवादित व्यक्तिसँग साझेदारी भनिएको विषयलाई उहाँले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने स्पष्टीकरण दिनुभएको छ । ‘सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन, यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन, त्यही कम्पनीमा मिडिया हाउसदेखि बैङ्कसम्मका लगानी छन्,के ती सबै साझेदार वा दोषी हुन् त ?’, उहाँको प्रश्न छ ।

आफ्नोबारेमा इन्ट्रेष्ट अफ कन्फ्लीक्टको आरोप उठाइएको बताउँदै उहाँले  यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धीकरण विभाग रहेको दाबी गर्नु भएको छ ।  सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको उहाँले बताउँदै आफूले राजीनामा नदिने सङ्केत गर्नु भएको छ ।  ‘यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन, यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन’, गुरुङको भनाइ छ ।

हल्ला छिटो फैलिने तर सत्य प्रमाणसहित मात्र आउने बताउँदै उहाँले पार्टीको नारा र व्यवहार फरक भयो भन्ने टिप्पणी पनि  गलत भएको दाबी गर्नु भएको छ। ‘व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन, लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन’, उहाँले भन्नु भएको छ ।

निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्ने बताउँदै उहाँले तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्ने बताउनु भएको छ । ‘अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु, सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन’, गुरुङले लेख्नु भएको छ ।