काठमाडौं, वैशाख ७ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग स्पष्टीकरण माग गरेको छ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा सोमबार ललितपुरस्थित बिपी स्मृति भवनमा बसेको बैठकले तामाङको अभिव्यक्ति पार्टी विधान विपरीत रहेको ठहर गर्दै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहेका तामाङले पदीय मर्यादा विपरीत पार्टी र नेतृत्वविरुद्ध बदनियत राखी भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएको निष्कर्ष निकालिएको छ। उक्त कार्य नेपाली कांग्रेस को विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (ग), (ङ) र (च) बमोजिम अनुशासन उल्लङ्घन भएको समितिको ठहर छ।
सोही विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम तामाङलाई तीन दिनभित्र केन्द्रीय अनुशासन समितिमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।
तामाङले कांग्रेस सभापति गगन थापासँग ३ अर्ब रुपैँया भएको र सो मध्य १ अर्ब रुपैँया कांग्रेसकाे विशेष महाधिवेशनमा खर्च गरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । सोही विषयलाई लिएर कांग्रेसले स्पष्टीकरण मागेको हो ।













प्रतिक्रिया दिनुहोस्