जनता टाइम्स

७ बैशाख २०८३, सोमबार २२:१९

 गृहमन्त्री सुधन गुरुङको अर्को धम्की : राष्ट्रको ढुकुटीमा आँखा गाड्नेहरू डराएका छन्, कारबाही रोकिन्न


काठमाडौं, वैशाख ७। आफूमाथि बिचौलियासँग मिलेका आरोप लागे पनि गृह मन्त्री सुधन गुरुङले कारबाही प्रक्रियाबाट पछि नहट्ने  धम्की दिनु भएको छ ।

गृहमन्त्री गुरुङले सार्वजनिक धारणा राख्दै वर्षौँदेखि राष्ट्रको ढुकुटीमा रगत–पसिनाले कमाएको पैसामा आँखा गाड्नेहरू अहिले डराएको बताउनुभएको छ। उहाँले आफू विरुद्धको मिडिया ट्रायल र प्रायोजित हल्ला ती समूहको ‘छटपटी’ मात्र भएको दाबी गर्नुभएको छ ।  ‘वर्षौँदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्, मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो, कारबाही रोकिँदैन, डगमगाइँदैन’, सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ ।

गृहमन्त्री गुरुङले दिनहुँ ठुलो परिमाणमा हुने भनिएको भ्रष्टाचारतर्फ सङ्केत गर्दै त्यस विरुद्ध अपेक्षित रूपमा कसैले आवाज नउठाएको बताउनुभएको छ ।  ‘दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ,’ उहाँले उल्लेख गर्नुभएको छ।

उहाँको यस अभिव्यक्तिलाई आफू विरुद्ध उठेका आरोपप्रति प्रतिरक्षात्मक अभिव्यक्तिको रूपमा हेरिएको छ ।  बिचौलिया भनिएका व्यक्तिको कम्पनीमा शेयर लगानी देखिए पछि गुरुङको सर्वत्र आलोचना भएको छ ।