जनता टाइम्स

२७ मंसिर २०७६, शुक्रबार १८:१५

मन्त्री पार्वत गुरुङको प्रस्तावमा सहमत बने जापानी राजदुत साइगो, जनाए यस्तो प्रतिवद्धता


काठमाडौं, मंसिर २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग नेपालका लागि जापानका राजदुत मासामिची साईगोबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्री गुरुङको कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई मुलुकबीचको मित्रता र द्धीपक्षीय सहयोगका क्षेत्रका विषयमा छलफल भएको छ । त्यस क्रममा राजदुत साईगोले जापानमा समेत ठूलो महत्व राख्ने मन्त्रालयको कार्यभार सम्हाल्नु भएको उल्लेख गर्दै जापान सरकारको तर्फबाट मन्त्री गुरुङलाई बधाईँ दिँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । मन्त्री गुरुङले पनि नेपालको कृषि क्षेत्र र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा जापान सरकारप्रति आभार व्यक्त गर्नु भयो ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा जापान सरकार र जापानी जनताले पुर्याएको सहयोगको खुलेर प्रशंशा गर्नु भएको थियो । उहाँले नेपालको ग्रामिण क्षेत्रका महिलालाई कृषि उद्यमी बनाउन र उनीहरुद्धारा उत्पादित सामग्रीको बजार प्रवद्र्धनमा जापान सरकारबाट थप सहयोग हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

जापानी राजदुत साईगो पनि नेपालमा हाल बालबालिका तथा ज्येष्ठ नागरिकका हितमा केन्द्रित कार्यक्रम संचालन भईरहेको जानकारी गराउँदै वैदेशिक रोजगारीमा गएका र पीडित भई फर्केका नेपाली महिलाका लागि सहयोग कार्यक्रम अघि बढाउन सकिने जानकारी मन्त्री गुरुङलाई गराउनु भएको थियो । भेटमा मन्त्री गुरुङ र राजदुत साईगोबीच समाज कल्याण परिषदको भावी स्वरुप, गैर सरकारी संस्था परिचालनलागयतका विषयमा पनि छलफल भएको थियो ।