दोलखा, वैशाख ८ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दोलखा भीमेश्वर मन्दिरमा यतिबेला दर्शनार्थीको उल्लेख्य भीड बढे पनि व्यवस्थापन पक्ष कमजोर हुँदा अव्यवस्थाले जरो गाडेको देखिएको छ ।
सदरमुकाम चरिकोट नजिकै अवस्थित उक्त मन्दिरमा दैनिक सयौँ दर्शनार्थी पुग्ने गरेका छन् । देशभरका मात्र नभई छिमेकी मुलुकबाट समेत भक्तजन आउने यस धार्मिक स्थलमा भेटी संकलन भने उल्लेख्य हुने गरेको छ । तर, मन्दिर व्यवस्थापनले आधारभूत सेवा–सुविधा विस्तारमा भने ध्यान नदिएको गुनासो बढ्दो छ ।
मन्दिर परिसरमा जुत्ता–चप्पल राख्ने उचित स्थान समेत छैन । मन्दरकाे बाहिर चप्पल जुत्ता असरल्ल फालिएका हुन्छ । सरसफइमा ध्यान नदिँदा मन्दिर परिसमा माैरीकाे गाेलाे जस्तै झिँगा भन्किएकाे देखिन्छ । स्वच्छ खानेपानी, प्राथमिक स्वास्थ्य उपचार जस्ता आधारभूत कुराकाे व्यवस्थापन समेत मन्दिरमा हुन सकेकाे छैन ।

पर्याप्त शौचालयसमेत नहुँदा दर्शनार्थीले सास्ती खेप्नुपरेको छ । मन्दिरको पछाडिपट्टि एउटा सार्वजनिक शौचालय छ, जो अधिकांश दर्शनार्थीहरुले देख्दा पनि देख्दैनन् ।
दर्शनार्थीका लागि विश्रामस्थलको समान्य व्यवस्था समेत छैन । लाइन व्यवस्थापनको उचित प्रवन्ध छैन । दर्शनार्थीकाे घण्टौँ उभिएर बस्नुपर्ने बाध्यता र ठेलाठेलले दुर्घटनाको जोखिमसमेत बढाएको दर्शनार्थीहरु बताउँछन् ।
धार्मिक विश्वासअनुसार दोलखा भीमसेनलाई पूर्वाभास दिने देवताका रूपमा मानिन्छ । देशमा संकट आउनुअघि भीमसेनको शिलामा पसिना आउने जनविश्वास छ, जसअनुसार राज्यस्तरबाट क्षमापूजा गर्ने परम्परा रहिआएको छ ।
त्रिभुजाकार कालो शिलालाई भीमेश्वर, भीमसेन वा भैरवका रूपमा पूजा गरिने यो स्थल धार्मिक–ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँ महादेव, नारायण र भैरवको फरक–फरक समयमा पूजा हुने परम्परा छ । बिहान, मध्यान्ह र साँझमा याे मन्दिरमा फरक फरक पूजा हुन्छ ।
धार्मिक किंवदन्तीअनुसार महाभारतसँग समेत जोडिएको यस क्षेत्रलाई पाँच पाण्डवको गुप्तवासकालीन स्मृतिसँग सम्बन्धित मानिन्छ । व्यापारी समुदायले विशेष रूपमा इष्टदेवका रूपमा पूजा गर्ने भएकाले यहाँ उनीहरूको उपस्थितिसमेत उल्लेख्य हुने गरेको छ ।
भक्तजनको आस्था, आर्थिक गतिविधि र ऐतिहासिक महत्वका हिसाबले समृद्ध भए पनि मन्दिर क्षेत्रको व्यवस्थापन भने कमजोर देखिँदा सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्