जनता टाइम्स

८ बैशाख २०८३, मंगलवार १२:०५

सिन्धुली खुर्काेटकाे प्रहरी हिरासतमा युवकको मृत्यु : कारण अन्तरजातिय विवाह 


सिन्धुली, वैशाख ८ । सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको खुर्कोट प्रहरी चौकीको हिरासतमा मृत्यु भएको घटनाले विवाद चर्किएको छ ।

प्रहरीका अनुसार वैशाख ३ गतेदेखि हिरासतमा रहेका विकले थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर आत्महत्या गर्नुभएको हो । घटनाका बेला उहाँ कक्षमा एक्लै रहेको बताइएको छ ।

काठमाडौंमा सवारी चालकका रूपमा कार्यरत विकले खोटाङकी एक युवतीसँग चैत २८ गते प्रेम विवाह गर्नुभएको थियो । युवती नाबालिका रहेको भन्दै उहाँका परिवारले जबरजस्ती करणीको उजुरी दिएपछि विकलाई काठमाडौंबाट पक्राउ गरी खुर्कोट ल्याइएको थियो ।

प्रहरीले उहाँले आत्महत्याको प्रयास गरेको जानकारी हिजो साँझ करिब ६ बजे पाएको जनाएको छ । तत्काल उद्धार गरी सुनकोसी सामुदायिक अस्पताल हुँदै सिन्धुली अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै परिवारजन अस्पताल पुगेका छन् । मृतकको शव हाल सिन्धुली अस्पतालमै राखिएको छ ।

यता, परिवारले भने घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् । अन्तरजातीय विवाहकै कारण झुटा उजुरी दर्ता भएको दाबी गर्दै उनीहरूले घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन् ।