काठमाडौं, वैशाख ८ । पूर्वश्रममन्त्री दीपक साहले गृहमन्त्री सुधन गुरुङसँग स्पष्टीकरण मागिएको विषयमा व्यङ्ग्य गर्दै प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा ‘स्पष्टीकरण…’ भन्ने एक शब्द मात्र लेख्दै प्रधानमन्त्री साहको निर्णयप्रति संकेतात्मक टिप्पणी गर्नुभएको हो । उहाँको उक्त अभिव्यक्तिलाई वर्तमान सरकारको नीति, विधि र व्यवहारमाथिको गम्भीर प्रश्नका रूपमा हेरिएको छ ।
यसअघि आफ्नै कार्यकालमा पहुँचको दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाएको आरोप लागेपछि प्रधानमन्त्री साहले तत्कालीन श्रममन्त्री साहलाई १४ दिनमै स्पष्टीकरणको अवसरसमेत नदिई बर्खास्त गर्नुभएको थियो ।
तर अहिले सम्पत्ति विवरण, सेयर खरिद र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धका विषयमा व्यापक आलोचना भइरहेका गृहमन्त्री गुरुङलाई जाेगाउन प्रधानमन्त्री साह नरम देखिएको भन्दै आलाेचना बढेकाे छ । गुरुङमाथि उठेका प्रश्नका बाबजुद उहाँलाई जोगाउने प्रयास भइरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना तीव्र बनेको छ ।
यही सन्दर्भमा प्रधानमन्त्रीले गृहमन्त्रीसँग लिखित स्पष्टीकरण मागेको चर्चा चलिरहेका बेला पूर्वमन्त्री साहको ‘स्पष्टीकरण…’ टिप्पणीले सरकारको निर्णय प्रक्रियामा देखिएको असंगति र नैतिकताको बहसलाई थप तीखाे बनाएको छ ।













प्रतिक्रिया दिनुहोस्