काठमाडौं, वैशाख ८। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गृहमन्त्रीसँग जोडिएको पछिल्लो प्रकरणमा निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसँग माग गरेको छ।
एमाले केन्द्रीय कार्यालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सार्वजनिक पदाधिकारीसँग सम्बन्धित विषयमा प्रश्न उठेपछि त्यसलाई कानुनी परिधिभित्र रही पारदर्शी, विश्वसनीय र निष्पक्ष ढङ्गले तथ्यका आधारमा छानबिन गर्नु अनिवार्य सर्त भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिँदै प्रश्न उठाउनु जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्ने माध्यम भएको बताइएको छ। पार्टीले विगतदेखि नै दण्डहीनताको अन्त्य र पारदर्शी शासन प्रणाली निर्माणप्रति आफ्नो प्रतिबद्धता कायम राखेको दाबी गरेको छ।
हालै नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै विभिन्न सरोकारवालाबाट प्रश्न उठ्दै आएको उल्लेख गर्दै एमालेले गृहमन्त्रीसँग सम्बन्धित प्रकरणले थप आशंका मात्र होइन, विगतका सम्भावित अनियमितता र विसंगतिका विषयहरू पनि उजागर हुन सक्ने सङ्केत गरेको जनाएको छ।
यस सन्दर्भमा पार्टीले गृहमन्त्रीसँग जोडिएका सबै विषयमा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको छ। ‘अनुसन्धान प्रक्रियालाई कुनै पनि शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनुपर्छ’, विज्ञप्तिमा भनिएको छ।
एमालेले उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्न माग गर्दै गृहमन्त्री स्वयंले पनि छानवीनलाई सहज बनाउन ढिलासुस्ती नगरी मार्गप्रशस्त गर्नुपर्ने जनाएको छ।
उक्त विज्ञप्ति एमालेका प्रेस संयोजक मीनबहादुर शाही द्वारा जारी गरिएको हो।













प्रतिक्रिया दिनुहोस्