जनता टाइम्स

९ बैशाख २०८३, बुधबार ११:२७

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै जनविश्वास पुनःस्थापना गर्नुपर्छ : महेश बस्नेत


काठमाडौं, वैशाख ९ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै जनविश्वास पुनःस्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

उहाँले याे दिवस विगतको स्मरण मात्र नभई वर्तमान चुनौतीसँग जुध्ने पुनःप्रतिबद्धताको अवसर भएको बताउनुभएको छ। उहाँका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा समाजमा असमानता, बेरोजगारी, महँगी र निराशा बढ्दै गएको देखिएको छ।

उहाँले श्रमिक तथा विद्यार्थी संगठनहरूलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले शासन प्रणाली अधिनायकवादतर्फ उन्मुख हुन सक्ने संकेत गरेको बताउनुभयो।

त्यसैगरी उहाँले केपी शर्मा ओलीमाथि भएको पक्राउ घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको धारणा राख्नुभयो। उहाँका अनुसार यस्ता गतिविधिले देशलाई फासिवादतर्फ धकेल्ने खतरा बढाउने भएकाले यसको प्रतिकार आवश्यक रहेको छ।

उहाँले वर्तमान सन्दर्भमा नाराभन्दा व्यवहारमा रूपान्तरण, सत्ताभन्दा सेवा केन्द्रित राजनीति तथा विभाजनभन्दा एकता र जनविश्वासको पुनःनिर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ।

कम्युनिष्ट आन्दोलनले समानता, न्याय र श्रमिक अधिकारका पक्षमा अझ सशक्त, जुझारु र संगठित ढंगले अघि बढ्नुपर्ने समय आएको उहाँको भनाइ छ। साथै, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

स्थापना दिवसको अवसरमा उहाँले सबै कम्युनिष्ट शक्ति र नेतृत्वलाई आत्मसमीक्षा गर्दै जनताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्नुभएको छ।