काठमाडौं, वैशाख ९ । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गर्नुभएको छ।
उहाँले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले करिब पाँच महिनाको पार्टीसँगको यात्रा टुङ्ग्याएको जानकारी दिनुभएको छ।
उहाँले उक्त अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। पार्टी परित्याग गरे पनि राजनीतिबाट टाढा नहुने उहाँको भनाइ छ। ‘जनसमुदायको भरोसा र शहीदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
उहाँले आगामी यात्रा सहज नहुने स्वीकार गर्दै जनताको विश्वास र शहीदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्