जनता टाइम्स

९ बैशाख २०८३, बुधबार २०:०५

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सुदन गुरुङले धम्की दिएको खुलासा


काठमाडौं, वैशाख ९ । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सुदन गुरुङ पक्षबाट धम्की दिइएको खुलेकाे छ। पत्रकार श्रेष्ठले आफ्ना पछिल्ला ‘ब्रेकिङ’ समाचारका कारण आफूलाई लक्षित गर्दै विभिन्न माध्यमबाट दबाब र धम्की आएको खुलासा गर्नुभएको हो।

उहाँका अनुसार गुरुङसँग सम्बन्धित समाचार प्रकाशन भएपछि केही व्यक्तिहरूले नक्कली परिचय प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्र हत्या गर्ने प्रयास गरेका छन्। ‘विदेशमा बसेका केही व्यक्तिहरू नक्कली परिचयमार्फत गालीगलौज गर्दै विषयान्तर गर्न सक्रिय छन्’, उहाँले उल्लेख गर्नुभएको छ।

पत्रकार श्रेष्ठले आफ्नो ३८ वर्ष लामो पत्रकारिता जीवनमा कहिल्यै पनि इमान नबेचेको दाबी गर्दै आफूमाथि लगाइएका आरोपहरू आधारहीन रहेको बताउनुभयो। ‘यदि हामीले इमान बेचेको भए हामी पनि विभिन्न आर्थिक प्रकरणमा जोडिन्थ्यौँ, तर त्यसको कुनै प्रमाण कसैसँग छैन’, उहाँले भन्नुभएको छ।

उहाँले आफूले विगतमा उच्च राजनीतिक नेतृत्व-केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत माथि समेत आलोचनात्मक समाचार लेख्दै आएको स्मरण गराउनुभएकाे छ। ‘हामीले सत्तामा रहेका शक्तिशाली व्यक्तिहरूमाथि समेत निर्भीक रूपमा समाचार लेख्दै आएका छौँ’, उहाँले बताउनुभयो।

यसै प्रकरणमा आफूलाई मौन बस्न दबाब दिँदै ‘रित्तो चेक’ प्रस्ताव गरिएको समेत उहाँको दाबी छ। तर, आफूले त्यस्ता प्रस्ताव अस्वीकार गर्दै सत्य-तथ्य बाहिर ल्याउन पत्रकारितामा अडिग रहेको उहाँले स्पष्ट पार्नुभयो।

पत्रकार श्रेष्ठले आफू विरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै अन्यथा आरोप लगाउनेहरूले नै पश्चाताप गर्नुपर्ने बताउनुभएको छ। यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।