सिन्धुली, वैशाख ९ । सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय कृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनालाई लिएर परिवारले गम्भीर शंका व्यक्त गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गर्नुभएको छ। मृतककी आमा विन्दामाया विकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो छोराको मृत्यु ‘आत्महत्या’ नभई प्रहरी यातनाका कारण भएको दाबी गर्नुभएको छ।
विज्ञप्तिअनुसार कृष्ण विकलाई वैशाख ३ गते सातदोबाटो प्रहरी चौकीले खोटाङ घर भएकी १८ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। त्यसपछि उहाँलाई मिलापत्रका लागि इलाका प्रहरी कार्यालय खुर्कोट पठाइएको बताइएको छ।
परिवारका अनुसार घटनाबारे उहाँहरुले वैशाख ५ गते मात्र जानकारी पाउनुभएको थियो। मृतककी आमाका अनुसार प्रारम्भमा बालविवाहको विषयमा पक्राउ गरिएको भए पनि पछि प्रहरीले दबाब दिई जबरजस्ती करणी मुद्दा दर्ता गराएको थियो। “बालविवाहको मुद्दा हुँदा हुँदै जबरजस्ती करणीको मुद्दा किन दर्ता गरियो भन्ने विषय निकै रहस्यमय छ,” विज्ञप्तिमा उल्लेख छ।
प्रहरी हिरासतमा रहेका बेला कृष्णलाई मानसिक तथा शारीरिक यातना दिइएको र जबरजस्ती करणी गरेको स्वीकारोक्ति दिन दबाब दिइएको पनि परिवारको आरोप छ। भेट्न गएका व्यक्तिहरूसँग उहाँले यस्तो गुनासो गर्नुभएको जानकारी आफूहरूले पाएको विन्दामायाले बताउनुभएको छ।
वैशाख ७ गते साँझ करिब ४ बजे कृष्णले हिरासतको शौचालयमा सर्टको पासो लगाई आत्महत्या गरेको भन्ने प्रहरी दाबीलाई परिवारले अस्वीकार गरेको छ। “पुरानो कपडाको सर्टले मानिस झुण्डिन सक्दैन, यस्तो दाबी विश्वसनीय छैन,” आमाको भनाइ छ।
परिवारले मृतकसँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट गर्न नदिएको, घटनास्थल अवलोकन गर्न नदिएको तथा मृत्युबारे ढिलो जानकारी गराइएको पनि गुनासो गर्नुभएको छ। विज्ञप्तिअनुसार घटनाको जानकारी परिवारलाई राति १० बजे मात्र दिइएको थियो।
हाल मृतकको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। परिवारले न्यायिक छानबिन नभएसम्म पोस्टमार्टम तथा दाहसंस्कार नगर्ने अडान लिनुभएको छ। तर, स्थानीय प्रशासनले शव बुझेर छिट्टै अन्त्येष्टि गर्न दबाब दिएको पनि आरोप लगाइएको छ।
विन्दामाया विकले आफ्नो पति दलबहादुर विकको ९ महिना अघि आत्महत्या भएको उल्लेख गर्दै आफू एकल महिला भएको अवस्थामा प्रहरीले गरेको व्यवहारले थप शंका उत्पन्न भएको बताउनुभएको छ।
घटनाको निष्पक्ष छानबिनका लागि स्वतन्त्र न्यायिक आयोग गठन गरी सत्य-तथ्य बाहिर ल्याउन र दोषीमाथि कडा कारबाही गर्न परिवारले सरकार तथा सरोकारवालासमक्ष माग गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्