जनता टाइम्स

१० बैशाख २०८३, बिहीबार ०९:०५

सुकुम्बासीमाथि डोजर लगाउने सरकारको दिनगन्ती सुरु : महेश बस्नेत


काठमाडौं, वैशाख १० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत ले सुकुम्वासी बस्ती खाली गराउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले सुरक्षा प्रमुखलाई बोलाएर ‘शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर’ भन्ने निर्देशन दिनुभएको सन्दर्भ उल्लेख गर्दै बस्नेतले उक्त निर्णयले सरकारको ‘असली चरित्र नाङ्गो बनाएको’ बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले निर्वाचनका बेला सुकुम्वासी बस्तीको पक्षमा उभिने प्रतिबद्धता जनाएको स्मरण गराउनुभएको छ। ‘सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु’ भन्ने अभिव्यक्ति उल्लेख गर्दै उहाँले वर्तमान निर्णयसँग त्यो प्रतिबद्धता मेल नखाने टिप्पणी गर्नुभएको छ।

बस्नेतले सरकारको नीतिप्रति प्रश्न उठाउँदै सुकुम्वासीलाई हटाउने कि व्यवस्थित गर्ने भन्ने विषयमा स्पष्टता माग गर्नुभएको छ। साथै, सडक विस्तार, फुटपाथ व्यवस्थापन र भन्सार नीतिको नाममा गरिब तथा साना व्यवसायीमाथि दबाब सिर्जना गरिएको उहाँको आरोप छ।

उहाँले सरकारका पछिल्ला कदमहरूलाई जनविरोधी र गरिबमाथि केन्द्रित भएको आरोप लगाउँदै यस्ता निर्णयले लोकतान्त्रिक मूल्यभन्दा अधिनायकवादतर्फ उन्मुख सङ्केत गर्ने दाबी गर्नुभएको छ। बस्नेतले यस्ता नीतिप्रति जनता चुप लागेर नबस्ने उल्लेख गर्नु भएको छ।

उहाँले सुकुम्वासीलाई व्यवस्थित गर्ने कि लखेट्ने भन्दै प्रश्न गर्नु भएको छ । ‘सुकुम्वासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने ? गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने ?’ उहाँको प्रश्न छ ।

सरकारले सिधा गरिब माथि हमला गरेको उहाँको भनाइ छ । ‘सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा एक सय रुपैँयाभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल–चामल खोस्ने ! यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो’, उहाँको धारणा छ ।

विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले सरकार लोकतान्त्रिक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख भएको बस्नेतकाे भनाइ छ। ‘यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्, जनताको धैर्यको सीमा हुन्छ, यो बालेन सरकार चाँडै जनताको मनबाट मात्रै होइन, सत्ताबाट पनि बिदा हुने दिन टाढा छैन।