काठमाडौं, वैशाख १०। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारितालाई जिम्मेवार र आचारसंहिता पालना गर्ने पेशा बनाउनुपर्नेमा जोड दिँदै आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यममाथिको नियमन प्रक्रिया स्पष्ट कानुनी संरचनाभित्रै हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले प्रेस स्वतन्त्रताको संरक्षणसँगै पत्रकारिताको मर्यादा कायम राख्न सबै सञ्चारमाध्यम जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै नियमनका लागि छुट्टै संवैधानिक र कानुनी निकायहरू विद्यमान रहेको स्मरण गराउनुभएको छ । आचारसंहिता पालना नगर्ने सञ्चारमाध्यमलाई हेर्ने जिम्मा मूलतः नेपाल प्रेस काउन्सिलकाे रहेको बताउँदै उहाँले त्यसको निर्णयमा असन्तुष्टि भए न्यायिक निकायमा जान सकिने स्पष्ट कानुनी बाटो रहेकाे स्मरण गराउनुभएकाे छ ।
अध्यक्ष शर्माले सरकार वा कार्यकारी निकायहरूले सिधै विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमलाई तर्साउने प्रवृत्ति उचित नभएको बताउनुभएको छ । उहाँका अनुसार यस्तो अभ्यासले प्रेस स्वतन्त्रताको मर्ममा चोट पुग्ने जोखिम रहन्छ ।
उहाँले भन्नुभयो, ‘आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई हेर्ने निकाय प्रेस काउन्सिल हो, त्यसमा पनि चित्त नबुझे न्यायिक निकायमा जाने व्यवस्था छँदैछ, यस्तो अवस्थामा सरकारले नै विज्ञप्ति निकालेर तर्साउन आवश्यक छैन होला भन्ने हाम्रो धारणा हो ।’
पत्रकारिता स्वतन्त्र भए पनि उत्तरदायी हुनुपर्छ भन्ने कुरामा नेपाल पत्रकार महासंघ स्पष्ट रहेकाे उहाँले बताउनुभयाे । त्यसको नियमन कानुनी प्रक्रियाभित्र मात्र हुनुपर्नेमा उहाँकाे जाेड छ ।
अध्यक्ष शर्माले पत्रकारिता क्षेत्रलाई आत्मअनुशासनमा आधारित बनाउनुपर्नेमा जोड दिँदै जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउनुभएकाे छ। उहाँका अनुसार गलत सूचना, अप्रमाणित सामग्री वा आचारसंहिता विपरीत सामग्री प्रकाशन/प्रसारण हुनु पत्रकारिताको विश्वसनीयताका लागि चुनौती हो ।
उहाँले पत्रकारहरूलाई पनि आचारसंहिता पालना गर्न आग्रह गर्दै पेशागत मर्यादालाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन आग्रह ग्नु भएकाे छ । ‘पत्रकारिता जिम्मेवार हुनु पर्छ, आचारसंहिता पालना नगर्ने प्रवृत्तिलाई सबैले गम्भीर रूपमा लिनुपर्छ तर यसको समाधान नियन्त्रण होइन, नियमन हो’, उहाँले भन्नुभयाे ।
अध्यक्ष शर्माले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको अव्यवस्थित सूचना प्रवाहप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाललाई नियन्त्रण होइन, तर जिम्मेवार उपयोगको संस्कार विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, सामाजिक सञ्जाल अहिले सूचना प्रवाहको शक्तिशाली माध्यम बनेको छ, तर त्यसको प्रयोग जिम्मेवार ढङ्गले नभए समाजमा भ्रम, तनाव र द्वन्द्व सिर्जना हुन सक्छ । ‘हरेक व्यक्तिले सामाजिक सञ्जाल पनि जिम्मेवार भएर चलाउनुपर्छ, यसलाई नियमन गर्नु पर्छ, नियन्त्रण होइन’, उहाँले भन्नुभयाे ।
नेपालमा प्रेस स्वतन्त्रता र नियमनको विषय लामो समयदेखि बहसको केन्द्रमा रहँदै आएको छ । एकातिर सञ्चारमाध्यमको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने दबाब छ भने अर्कोतर्फ गलत सूचना, चरित्र हत्या र आचारसंहिता उल्लङ्घनका घटनाहरूले नियमनको आवश्यकता देखाइरहेका छन् ।
यस सन्दर्भमा नेपाल पत्रकार महासंघ ले सँधै प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट धारणा राख्दै आएको छ । महासंघले स्वतन्त्रता नाममा अराजकता स्वीकार्य नहुने भन्दै पेशागत जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएको छ ।सरकारले सूचना नै निकालेर सञ्चारमाध्यमलाई कारबाही गर्ने धम्कि दिए पछि अध्यक्ष शर्माकाे याे धारणा आएकाे हाे ।













प्रतिक्रिया दिनुहोस्