काठमाडौं, वैशाख १० । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न निर्वाचन प्रक्रिया सुरु गरेको छ। पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरिएको समितिले सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा प्रक्रिया अगाडि बढाएको हो।
निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावली सार्वजनिक गरिएको नेता रसाइलीले जानकारी दिनुभयो। उहाँका अनुसार वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने सोही दिन बेलुका ४ बजेदेखि ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ।
यद्यपि, कार्यतालिका सार्वजनिक भइसके पनि पार्टीभित्र दलको नेता सहमतिमै टुंग्याउने प्रयास जारी रहेको छ। सहमति जुट्न नसके निर्वाचन सम्पन्न लगत्तै मतगणना गरी परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।
दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन्। यसबाहेक मोहन आचार्य र निश्कल राई लगायतका नेताहरूको नाम पनि चर्चामा रहेको छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ जना सांसद रहेका छन्।
पार्टीभित्रको आन्तरिक किचलोका कारण दलको नेता चयन प्रक्रिया ढिलो हुँदै आएको थियो। तर सर्वोच्च अदालत ले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
कांग्रेस प्रमुख प्रतिपक्षी दल भएका कारण संवैधानिक परिषद् मा समेत प्रतिनिधित्व रहने हुँदा दलको नेता चयनलाई पार्टीभित्र महत्वपूर्ण रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्