काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देशमा बिचौलिया र माफियाको प्रभाव बढ्दै गएको भन्दै निर्मम छानबिनको आवश्यकता औँल्याउनुभएको छ।
उहाँले विगतमा संसदमा व्यक्त गरेको धारणा स्मरण गराउँदै देशको शासन प्रणाली नै बिचौलिया र माफियाको प्रभावमा सञ्चालन भइरहेको दोहोर्याउनुभएको हो। “मैले संसदमा स्पष्ट भनेको थिएँ-‘यो देश बिचौलिया र माफियाको प्रभावमा चलेको छ, सरकार पनि उनीहरूकै हितमा काम गरिरहेको छ’,” उहाँले भन्नुभएको छ।
डा. भण्डारीले अहिले आएर आफूले उठाएका आवाजहरू पुष्टि हुँदै गएको जिकिर गर्नुभएको छ। उहाँका अनुसार देशका स्रोत र साधनमाथि सीमित समूहले नियन्त्रण जमाइरहेको र त्यसले समग्र शासन प्रणालीलाई प्रभावित पारेको छ।
उहाँले देश सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसको दुरुपयोग गर्ने र गराउन दिनेहरूलाई ‘देशका वास्तविक शत्रु’ को संज्ञा दिनुभएको छ।
उहाँले वर्तमान परिस्थितिमा निष्पक्ष र कठोर छानबिन अपरिहार्य रहेको बताउँदै राज्यका निकायहरूलाई पारदर्शी र उत्तरदायी बन्न आग्रह गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्