काठमाडौं, वैशाख ११। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सुकुम्वासी बस्ती हटाउने सरकारी कदमप्रति कडा आपत्ति जनाउँदै यसलाई अमानवीय कार्यको संज्ञा दिनुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै चुनावका बेला गरिएका वाचा र वर्तमान कदमबिचको विरोधाभासप्रति प्रश्न उठाउनुभएको छ। “रवि जी… तपाईँको रास्वपाको निर्णय हो त सुकुम्वासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुम्वासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र ?” उहाँले प्रश्न गर्नुभएको छ।
साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ सङ्केत गर्दै गरिब र सुकुम्वासी समुदायको पीडाप्रति राज्य संवेदनशील नभएको आरोप लगाउनुभएको छ। “ए धनी शासक… तिम्लाई के थाहा गरिबको पीडा ! तिम्लाई के थाहा सुकुम्वासीको जीवन र दिनचर्या !” उहाँले भन्नुभएको छ।
उहाँले संविधानले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक दिएको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको बताउनुभएको छ। “संविधानले ससम्मान बाँच्न पाउने हक दिएको छ तर कागजमा मात्रै ! यथार्थमा त सुकुम्वासीको घरमा डोजर चल्छ,” उहाँको भनाइ छ।
वर्षौँको मेहनतले बनाएको आश्रय गुमाउँदा पीडितहरू आक्रोशित हुनु स्वाभाविक रहेको उल्लेख गर्दै उहाँले समाजको संवेदनशीलतामाथि पनि प्रश्न उठाउनुभएको छ। “पीडितलाई सबैले अपमान गर्दा झन् घाउमा नुन चुक लगाइदिने समाज कति निर्दयी !” उहाँले उल्लेख गर्नुभएको छ।
साम्पाङले धनी र शक्तिशाली वर्गप्रति कटाक्ष गर्दै राज्यको प्राथमिकता गलत दिशामा गएको टिप्पणी गर्नुभएको छ। ‘एक रात गरिबको झुपडीमा गएर सुत ! एक छाक गरिबको खाना खाएर बाँच ! एक दिन गरिब सङ्गै ज्याला मजदुरी गरेर हेर ! एक हप्ता गरिबको पिर जिएर हेर अनि बुझ्नेछौ वास्तविक नेपाल र वास्तविक नेपालीको पिडा ! अरूको रोदन र अरूको चित्कारलाई संगीत नठान !’ उहाँले भन्नुभएको छ।
उहाँले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै जनतामाथि दमन होइन, संरक्षण आवश्यक रहेको बताउनुभएको छ। “कानुनको काम जनतालाई सताउने होइन, जनतालाई बचाउने हो,” उहाँको भनाइ छ।
उहाँले सरकारलाई गरिब र निमुखा नागरिकको पक्षमा उभिन आग्रह गर्दै चेतावनीसमेत दिनुभएको छ। ‘गरिबको पिर र व्यथामा, समस्या त आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार… तिम्लाई मेरो सुझाव छ ! गरिबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्नेछैन तिम्लाई’ उहाँले भन्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्