जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार ०९:१०

कांग्रेस संसदीय दलको नेता चयन आज, सहमति जुट्न नसकेपछि मतदान हुने


काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि निर्वाचनमार्फत् नेता चयन गर्ने प्रक्रिया अघि बढाइएको हो ।

पूर्वनिर्धारित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम छ । त्यसपछि दाबी विरोध, जाँचबुझ, दोस्रो नामावली प्रकाशन तथा नाम फिर्ता जस्ता प्रक्रिया पूरा गरिनेछ । अन्तिम नामावली दिउँसो साढे ३ बजे प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने छ ।

संसदीय दलको नेताका लागि पूर्व सहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दाबी गर्नुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो ।

यसबीच, प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिना पुग्न लाग्दासमेत दलको नेता चयन हुन नसक्नुमा आन्तरिक मतभेद मुख्य कारण रहेको बताइएको छ । पार्टीका एक शीर्ष नेताका अनुसार सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबीचको चाहना नमिल्दा प्रक्रिया लम्बिएको हो ।

सभापति थापाले प्रत्यक्ष निर्वाचित सांसद मोहन आचार्यलाई  संसदीय दलकाे नेता बनाउन चाहनु भएको छ भने उपसभापति शर्माले समानुपातिकतर्फका सांसद भीष्मराज आङ्देम्बेलाई अघि सार्नुभएको छ । आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित हुनुहुन्छ भने आङ्देम्बे पाँचथरबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुनुहुन्छ । उहाँ १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा विजयी हुनुभएको थियो ।