जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार ११:२४

सरकारकाे विरुद्धमा उत्रिए सत्तारुढ दलका सांसदहरु : रास्वपाका ६ जना सांसद सिन्धुली प्रशासनअगाडि धर्नामा 


काठमाडौं, वैशाख ११ । बालेन्द्र साह नेतृत्वको सरकारका विरुद्ध उहाँकै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नै धर्नामा बसेका छन् ।

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्काेटकाे प्रहरी हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्युलाई लिएर न्यायको माग गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ जना सांसद र दलित अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन् ।

धर्नामा सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक र आशिष गजुरेल सहभागी हुनुहुन्छ । उहाँहरूले घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्नुभएको हो ।

सांसद खगेन्द्र सुनारले प्रहरीले श्रीकृष्ण विकको हत्या गरेको आरोप लगाउनुभएको छ । अन्तरजातीय विवाहको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा कुटपिट गरी हत्या गरिएको र घटनालाई दबाउने प्रयास भएको उहाँले बताउनुभयो ।

धर्नामा बसेकाहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी प्रमुख (एसपी) तथा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्नुभएको छ । साथै, घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग उहाँहरूको छ ।