जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार १३:४५

लोकतन्त्रका लागि रामेछापको ऐतिहासिक योगदान : तीन महान् व्यक्तित्वले कोरेको लोकतान्त्रिक संघर्षको आधार


– नवराज पथिक –

रामेछाप, वैशाख ११ । आज लोकतन्त्र दिवस। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटन गरेकाे प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कार्यकारी अधिकार त्यागेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ। विसं २०५९ जेठ ८ मा संसद् विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएको घटनापछि सुरु भएको जनआन्दोलनले अन्ततः राजतन्त्रको निरङ्कुश अभ्यासलाई परास्त गरेको थियो।

तर लोकतन्त्रको यो उपलब्धि कुनै एक दिनको परिणाम थिएन। यसको जरा नेपालका विभिन्न समयमा  विभिन्न क्षेत्रबाट भएका दीर्घकालीन सङ्घर्षमा गाडिएको छ। त्यसमध्ये रामेछाप एक महत्त्वपूर्ण केन्द्र हो।

राणा शासनविरुद्धको विद्रोहदेखि पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनसम्म रामेछापले निरन्तर रूपमा राजनीतिक चेतना, नेतृत्व र वैचारिक ऊर्जा प्रदान गरेको देखिन्छ।

यस ऐतिहासिक यात्रामा रामेछापले तीन यस्ता व्यक्तित्व जन्मायो, जसले फरक–फरक माध्यमबाट एउटै लक्ष्य पछ्याएर निरङ्कुश शासनको अन्त्य र जनताको शासन स्थापनामा योगदान गर्नुभयो  ती हुन् कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठ।

साहित्यबाट विद्रोह : कृष्णलाल अधिकारी

नेपालका प्रथम साहित्यिक सहिदका रूपमा चिनिनुहुने कृष्णलाल अधिकारीको जन्म वि.सं. १९४४ माघ २४ गते मन्थली नगरपालिका–२ कठजोरमा भएको थियो। निजामती सेवामा सुब्बा पदमा कार्यरत रहँदा पनि उहाँले समाज र शासनप्रति आफ्नो दृष्टिकोण साहित्यमार्फत व्यक्त गर्नुभयो।

वि.सं. १९७७ मा प्रकाशित उहाँको कृति ‘मकैको खेती’ नेपाली साहित्य इतिहासको एउटा साहसी दस्ताबेज मानिन्छ। सतही रूपमा कृषि विषयक जस्तो देखिने यो कृतिले वास्तवमा तत्कालीन राणा शासनको व्यङ्ग्यात्मक आलोचना गरेको थियो। ‘रातो टाउको र कालो टाउको भएका कीरा’ जस्ता प्रतीकात्मक अभिव्यक्तिले सत्ताधारी शासक वर्गमाथि प्रहार गरेको ठानिएपछि उहाँ पक्राउ पर्नुभयो।

उहाँलाई नौ वर्षको कारावास सजाय सुनाइयो, पुस्तकका अधिकांश प्रति जलाइयो, र अभिव्यक्तिको स्वतन्त्रतामाथि कठोर प्रहार गरियो। अन्ततः जेलमै वि.सं. १९८९ मा उहाँको निधन भयो। विचार व्यक्त गरेकै कारण जीवन गुमाउनुपरेको हुँदा उहाँ नेपाली इतिहासमा पहिलो साहित्यिक शहीदका रूपमा अमर हुनुभयो। उहाँको सङ्घर्षले देखायो-कलम पनि क्रान्तिको शक्तिशाली अस्त्र हुन सक्छ।

बलिदानको प्रतीक : गङ्गालाल श्रेष्ठ

रामेछापको भँगेरीमा जन्मनु भएका गङ्गालाल श्रेष्ठ युवावस्थामै प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा बन्नुभयो। भारतको कलकत्तामा प्रारम्भिक शिक्षा हासिल गरेपछि उहाँले काठमाडौंस्थित दरबार हाईस्कूलबाट उत्कृष्ट नतिजासहित एसएलसी उत्तीर्ण गर्नुभयो र त्यसपछि त्रिचन्द्र कलेजमा अध्ययन गर्दै राजनीतिक चेतनामा सक्रिय हुनुभयो।

महावीर संस्थामार्फत उहाँले राणा शासनविरुद्ध खुला विरोध सुरु गर्नुभयो। असन र इन्द्रचोकमा सार्वजनिक रूपमा दिएको राणा विरोधी भाषणले तत्कालीन सत्ता झस्किएको थियो। पक्राउ र रिहाइको चक्रपछि उहाँ भूमिगत गतिविधिमा संलग्न हुनुभयो।

वि.सं. १९९७ मा प्रजापरिषद्सँग सम्बन्धित आरोपमा पक्राउ परेका उहाँलाई दशरथ चन्दसँगै माघ १५ गते मृत्युदण्ड दिइयो। उहाँको सहादतले नेपाली जनमानसमा विद्रोहको आगो अझ प्रज्वलित गर्‍यो। गंगालालको बलिदानले प्रमाणित गर्‍यो-स्वतन्त्रताको मूल्य प्रायः जीवनको मूल्यभन्दा माथि हुन्छ।

विचार र संगठनका अभियन्ता : पुष्पलाल श्रेष्ठ

रामेछापकै भँगेरीमा जन्मनु भएका पुष्पलाल श्रेष्ठ नेपालका कम्युनिष्ट आन्दोलनका संस्थापक महामन्त्रीका रूपमा परिचित हुनुहुन्छ। दाजु गङ्गालाल श्रेष्ठको सहादतले उहाँको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको थियो। ‘प्रजातन्त्रका लागि बालिएको दियो निभ्न दिनु हुँदैन’ भन्ने प्रेरणाले उहाँलाई वैचारिक संघर्षको बाटोमा अघि बढायो।

वि.सं. २००६ मा भारतको कलकत्तामा उहाँले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो। मार्क्सवाद–लेनिनवादको सिद्धान्तलाई नेपाली सन्दर्भमा रूपान्तरण गर्दै उहाँले आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नुभयो। कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादले विचारलाई जनस्तरसम्म पुर्‍याउने ऐतिहासिक काम गर्‍यो।

वि.सं. २०१७ पछि पञ्चायती व्यवस्थाको दमनका कारण उहाँ भूमिगत र निर्वासित जीवन बिताउन बाध्य हुनुभयो। तर त्यस अवस्थामै पनि उहाँले कम्युनिष्ट शक्तिहरूलाई एकीकृत गर्ने प्रयास जारी राख्नुभयो। नेपाली कांग्रेस र वाम शक्तिहरूको संयुक्त संघर्षबाट मात्र परिवर्तन सम्भव हुने उहाँको धारणा २०४६ को जनआन्दोलनमा साकार भयो।

वि.सं. २०३५ साउन ७ गते नयाँ दिल्लीमा उहाँको निधन भए पनि उहाँको वैचारिक विरासत आज पनि नेपाली राजनीतिमा जीवित छ।

रामेछाप : भौगोलिक क्षेत्रभन्दा माथि, वैचारिक केन्द्र

यी तीन व्यक्तित्वको जीवन यात्रा हेर्दा स्पष्ट हुन्छ-रामेछाप केवल एउटा जिल्ला होइन, राजनीतिक चेतना र वैचारिक संघर्षको उर्वर भूमि हो। यहाँबाट उठेका आवाजहरूले देशव्यापी आन्दोलनलाई दिशा दिएका छन्।

कृष्णलाल अधिकारीले विचारलाई शब्दमार्फत व्यक्त गर्दै निरङ्कुश शासनलाई चुनौती दिनुभयो। गङ्गालाल श्रेष्ठले आफ्नो जीवन नै बलिदान गरेर आन्दोलनलाई नैतिक उचाइ दिनुभयो। पुष्पलाल श्रेष्ठले दीर्घकालीन राजनीतिक परिवर्तनका लागि संगठन र विचारको आधार तयार गर्नुभयो।

लोकतन्त्र दिवसको सन्देश

लोकतन्त्र दिवस केवल राजनीतिक उपलब्धिको उत्सव मात्र होइन, यो त्याग, संघर्ष र बलिदानको स्मरण पनि हो। आजको दिनले हामीलाई सम्झाउँछ-लोकतन्त्र सजिलै प्राप्त भएको होइन, यसको लागि असङ्ख्य संघर्ष र बलिदान भएका छन्।

रामेछापका यी तीन महान् व्यक्तित्वहरूको योगदानले नेपालको लोकतान्त्रिक यात्रामा गहिरो आधार तयार पारेको छ। उहाँहरूको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ—विचार, साहित्य, संगठन र बलिदानमार्फत पनि निरङ्कुश शक्तिविरुद्ध प्रभावकारी संघर्ष सम्भव हुन्छ।

त्यसैले, लोकतन्त्रको रक्षा र सुदृढीकरण आजको पुस्ताको जिम्मेवारी हो। इतिहासले दिएको प्रेरणालाई आत्मसात गर्दै लोकतन्त्रलाई अझ समावेशी, उत्तरदायी र सुदृढ बनाउनु नै यी महान् व्यक्तित्वहरूप्रति सच्चा सम्मान हुनेछ।