काठमाडौं, बैशाख ११ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ । दलको नेता चयनका लागि निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले एकाएक निर्वाचन नै स्थगित गरेको हो ।
निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार निर्वाचनको नयाँ मिति तोकिएको छैन । यो निर्णयसँगै कांग्रेसमा संसदीय दलको नेता चयन अनिश्चित बनेको छ । कांग्रेस सभापति गगन थापाले दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाउनु भएको छ ।
समितिमा उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल हुनुहुन्छ । समिति संयोजक रहनुभएका शर्मा र सभापति थापाकै बीचमा संसदीय दलको नेता चयनमा पनि कुरा मिलेको छैन ।
सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सार्नुभएको छ भने उपसभापति शर्माले समानुपातिक सांसद तथा पूर्वसहमहामन्त्री पाँचथरका भीष्मराज आङ्देम्बेलाई अघि सार्नुभएको छ । बरिष्ठ नेता अर्जुननरसिंह केसीलाई सर्वसम्मत दलको नेता बनाउने प्रयाश पनि जारी रहेको छ ।
सर्वसम्मत भए आफू चुनाव नलडने घोषणा गर्नुभएका समानुपातिक सांसद केसीले हाल आएर भने सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने जानकारी नेताहरूलाई गराउनु भएको छ । तीन जना दावेदार र सभापति–उपसभापतिबीच नै दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको छ ।
दलको नेता छान्न आज दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३ः१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३ः२० बजे दाबी विरोध दिन सकिने, ३ः२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४ः३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो ।
मतदान स्थल कांग्रेस संसदीय दलको कार्यालय, मतगणना मतदान सम्पन्न भएपछि सुरु गर्ने तालिका तालिका थियो । तर अन्तिम समयमा एकाएक रोकिएको हो । यो घटनासँगै कांग्रेसका नेता कार्यकर्ताहरू सुध्रएिको कांग्रेसको प्रमाण मिलेको भन्दै ब्यंग्य गर्न थालेका छन । नेपाली कांग्रेसमा हालसम्म प्रायजसो निर्वाचनबाटै दलको नेता चयन हुँदै आएका छन । २०६२–०६३ को जनआन्दोलनपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणायता एकपटक गिरिजाप्रसाद कोइराला सर्वसम्मत बनेबाहेक कांग्रेसको दलको नेता निर्वाचनबाटै छानिएको छ ।













प्रतिक्रिया दिनुहोस्