जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार १७:०२

सिन्धुली हिरासत मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन


काठमाडौं, वैशाख ११ । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीको हिरासतमा रहेका एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ ।

प्रधान कार्यालयले प्र.ना.म.नि. दिनेश कुमार आचार्यको संयोजकत्वमा समिति गठन गर्दै ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण बिकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख ७ गते साँझ करिब ५ बजेर ५९ मिनेटमा उहाँ हिरासत कक्षभित्र रहेको शौचालयमा आफ्नो सर्ट प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । घाइते अवस्थामा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा उहाँको मृत्यु भएको जनाएको छ ।

घटनाको तथ्यगत र वस्तुनिष्ठ छानबिन गरी यथार्थ सार्वजनिक गर्न समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितिलाई तोकिएको जिम्मेवारीअनुसार ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।