जनता टाइम्स

१२ बैशाख २०८३, शनिबार ०९:५१

प्रधानमन्त्री बालेन्द्र साहलाई हर्क साम्पाङको सुझाव : जनतालाई दुःख नदिनुहोस्, विकासमा लाग्नुहोस्


काठमाडौं, वैशाख १२ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र साह बालेनलाई जनतालाई अनावश्यक दुःख नदिन आग्रह गर्दै विकासमा केन्द्रित हुन सुझाव दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले जग्गा–जमिनको विषयलाई लिएर अनावश्यक विवाद र कठोर कदमले सर्वसाधारणलाई पीडा नदिन आग्रह गर्नुभएको हो। उहाँले ‘जनतालाई धेरै दुःख नदिनुहोस्, जग्गा–जमिन त तेरो न मेरो कसैको हुँदैन’ भन्दै मानवीय दृष्टिकोण अपनाउनुपर्ने उल्लेख गर्नुभएको छ।

उहाँले मानिसको अन्तिम गन्तव्य माटो नै हुने भन्दै जीवन र सम्पत्तिप्रतिको मोहभन्दा माथि उठेर समाजका लागि काम गर्नुपर्ने धारणा राख्नुभएकाे छ । सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ, सत्य यही एउटा माटो हो’ भन्ने उहाँको भनाइ उद्धृत गरिएको छ।

आफूले ‘माटो’ चुनाव चिन्ह रोजेको प्रसङ्ग जोड्दै साम्पाङले विकासमुखी राजनीति आवश्यक रहेको उल्लेख गर्नुभयो। ‘त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त ! विकासमा लाग्नु ! पुरानो जुङ्गाको फाइट छोड्नु !’ भन्दै उहाँले वर्तमान नेतृत्वलाई आपसी द्वन्द्वभन्दा विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको छ।

साम्पाङले व्यंग्यात्मक शैलीमा ‘आजको मितिमा तपाईँकै जुङ्गा लामो छ’ भन्दै शक्ति प्रदर्शनभन्दा जिम्मेवार नेतृत्व आवश्यक रहेको संकेत गर्नुभएको छ। उहाँको यो अभिव्यक्ति पछिल्लो समय काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा चालेका कदमहरूप्रति आएको सन्दर्भमा सार्वजनिक भएको हो।

हाल महानगरको कदमप्रति विभिन्न कोणबाट प्रतिक्रिया आउने क्रम जारी रहँदा साम्पाङको टिप्पणीले थप बहस सिर्जना गरेको छ।