काठमाडौं, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका कार्यसमितिले सांसद विश्वराज पोखरेल जोडिएको विवादबारे विज्ञप्ति जारी गर्दै बचाउ गरेको छ।
प्रधानाध्यापकलाई धम्क्याएको भनिएको भिडियो सार्वजनिक भएपछि सर्वत्र आलोचना भइरहेका बेला पार्टीको स्थानीय कमिटीले उक्त घटनालाई ‘तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको’ दाबी गरेको हो।
जारी विज्ञप्तिअनुसार सांसद पोखरेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि स्थानीय तहमा मतदातासँग प्रत्यक्ष भेटघाट, विकास निर्माणका कामको अवलोकन तथा जनसमस्याबारे जानकारी लिने क्रममा खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडा, विद्यालय र संरचनामा पुग्दै आउनुभएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा वैशाख १० गते खिजिदेम्बा–२ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमकै क्रममा विवाद भएको जनाइएको छ। ‘उक्त कार्यक्रमबारे विद्यालयलाई पूर्वजानकारी गराइएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर विद्यालय व्यवस्थापन समिति तथा प्रशासनको लापरवाहीपूर्ण व्यवहार र ढिलासुस्तीका कारण अप्रत्याशित रूपमा विवाद सिर्जना हुन पुगेको हो।’
पार्टीका अनुसार सो क्रममा प्रधानाध्यापकबाट आत्मआलोचना भएपछि विवाद समाधान भइसकेको दाबी गरिएको छ। तर ‘नियतवश उक्त विषयलाई तोडमोड गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिएको’ भन्दै पार्टीले त्यसप्रति खेद प्रकट गरेको छ।
विज्ञप्तिमा घटनाका कारण आम सर्वसाधारण, अभिभावक तथा विद्यालय प्रशासनमा पर्न गएको असरप्रति क्षमायाचना समेत गरिएको छ।
यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद पोखरेलले आफूलाई स्वागत गर्न गेटमा नआएको भन्दै विद्यालयका प्रधानाध्यापकलाई धम्क्याएको देखिएको थियो। सो भिडियो सार्वजनिक भएपछि उहाँको व्यापक आलोचना हुँदै आएको छ।













प्रतिक्रिया दिनुहोस्