जनता टाइम्स

१२ बैशाख २०८३, शनिबार १७:२८

ओखलढुंगाका सांसद विश्वराज पोखरेलले प्रधानाध्यापक धम्क्याएकाेमा मागे माफी


काठमाडौं, वैशाख १२ । ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकसँगको विवादास्पद व्यवहारप्रति सार्वजनिक रूपमा माफी माग्नुभएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका कारण आलोचना बढेपछि उहाँले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति र व्यवहारप्रति खेद प्रकट गर्नुभएको हो।

विज्ञप्तिमा उहाँले संघीय संसदको बैठक स्थगित भएको अवसरमा वैशाख ९ गते जिल्लावासीसँग भेटघाट, अन्तरक्रिया तथा समस्या बुझ्ने क्रममा खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय पुगेको उल्लेख गर्नुभएको छ। सो क्रममा देखिएको भिडियो ‘सम्पूर्ण सन्दर्भ नबुझी काटछाँट गरेर प्रस्तुत गरिएको’ दाबी गर्दै त्यसले घटनाको वास्तविकता विकृत बनाएको उहाँको भनाइ छ। उहाँले भन्नुभएको छ, ‘यथार्थ परिस्थिति नबुझी केही क्षणका दृश्यहरू मात्र प्रस्तुत हुँदा गलत सन्देश गएको हुन सक्छ।’

तथापि सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली र व्यवहार अझ संयमित हुनुपर्ने स्वीकार गर्दै उहाँले जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ। ‘यदि मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।

उहाँले परिस्थिती जस्तोसुकै भए पनि आफूले अझ धैर्य र मर्यादित ढंगले प्रतिक्रिया दिनुपर्ने स्विकार गर्नु भएकाे छ । उहाँले विद्यालयका प्रधानाध्यापक आफूलाई गेटमा स्वागत गर्न नआएकाे भन्दै धम्क्याउनु भएकाे थियाे ।

सांसद पोखरेलले उक्त घटनाबाट पार्टी, समर्थक, विद्यालय परिवार, स्थानीय समुदाय तथा आम नागरिकलाई ठेस पुगेको स्वीकार गर्दै क्षमा माग्नुभएको छ। साथै आगामी दिनमा अझ जिम्मेवार, संवादमुखी र संयमित भएर जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।