काठमाडौं, वैशाख १२ । काठमाडौंका विभिन्न सुकुम्वासी बस्तीहरूमा शनिबार बिहानैदेखि डोजर चलेपछि दर्जनौँ परिवार एकाएक बेघरबार भए। बिहानको चिसो हावासँगै बस्तीमा छाएको सन्नाटा र नबोलेको पीडाले दिनभरि वातावरण झन् भारी बनायो।
सरकारी टोली डोजरसहित बस्तीमा प्रवेश गर्दा न त ठुलो होहल्ला भयो, न त कुनै प्रतिरोध। मानौँ, सबैले आफ्नो भाग्य स्वीकार गरिसकेका थिए। घरभित्रका सामानहरू हतार–हतार पोका पारिँदै बाहिर निकालिए। प्रहरीको उपस्थितिमा ती सामानहरू एकपछि अर्को गर्दै सडक किनारमा थुपारिए।
डोजर भने निरन्तर अगाडि बढिरह्यो। वर्षौँदेखि टेकेका टहराहरू, पसिनाले जोडेका घरहरू, एकाएक माटोमा मिल्दै गए। आफ्नै आँखाअगाडि आफ्नै आश्रय भत्किँदै जाँदा धेरैजसो स्थानीय निस्प्रभावी बनेर हेरिरहेका थिए। धेरैका आँखामा आँसु थिए, उनीहरु ठुलाे स्वर मच्चाएर रोएनन्, कोही चिच्याएनन् तर मौनताभित्र गहिरो पीडा स्पष्ट देखिन्थ्यो।
यी बस्तीहरूमा बस्ने धेरैजसो श्रमजीवी नागरिकहरूले यही वस्तीलाई उठाउन आफ्नो जीवन खर्चिएका थिए। तिनै हातले बनाएका टहरा, तिनै पसिनाले चलायमान बनाएको जीवन- आज त्यही वस्तीमा उनीहरू आफैँ अडिने ठाउँविहीन बने।
‘पोका भित्र सामान, बाहिर जीवन’ जस्तो दृश्य देखिन्थ्यो-जहाँ नागरिकहरू आफ्ना सम्पत्ति समेटेर खुला आकाशमुनि उभिन बाध्य भए। घर भत्किँदा उडेको धुलोसँगै उनीहरूको वर्षौँको सम्झना र संघर्ष पनि उडिरहेको अनुभूति हुन्थ्यो।
यस क्रममा सरकारी पक्षले कुनै अवरोधबिना बस्ती खाली गराउन सफल भएको सन्देश दिएको छ। तर बस्तीका बासिन्दाका लागि यो ‘सफलता’ होइन, एकाएक थोपारिएको विस्थापन बनेको छ।
डोजरको आवाज रोकिएपछि बस्तीमा पुनः सन्नाटा छायो तर अब त्यो सन्नाटा घरभित्रको होइन, खुला आकाशमुनि बसेका नागरिकहरूको थियो।













प्रतिक्रिया दिनुहोस्