जनता टाइम्स

१२ बैशाख २०८३, शनिबार १९:५६

जडीबुटीमा सुकुम्वासी बस्ती हटाउने अभियान अवरुद्ध, स्थानीय विरोधपछि सुरक्षा टोली पछाडि हट्न बाध्य


काठमाडौं, वैशाख १२ । काठमाडौं उपत्यकाको जडीबुटी क्षेत्रमा अतिक्रमित भूमि खाली गर्ने सरकारी अभियान स्थानीय विरोधका कारण अवरुद्ध भएको छ। भक्तपुरतर्फको क्षेत्रमा डोजर प्रयोग गरी संरचना हटाउने प्रयास भइरहेका बेला स्थानीय बासिन्दाले प्रतिवाद जनाएपछि अवस्था एकाएक तनावग्रस्त बनेको हो।

अतिक्रमण हटाउन खटिएको प्राविधिक तथा सुरक्षाकर्मी टोलीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेपछि अभियान तत्कालका लागि रोकिएको छ। घटनास्थलमा खटिनु भएका सुरक्षाकर्मीहरूका अनुसार चारैतिरबाट ढुंगा प्रहार हुन थालेपछि अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएको थियो। घटनामा केही प्रहरी घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल (एपीएफ) ले आजका लागि अभियान स्थगित गरिएको जानकारी दिएको छ। ढुंगामुढाको जोखिम बढेपछि सुरक्षाकर्मीहरू क्रमशः पछाडि हटेको छ भने भत्काउने कार्य रोकिएको छ।

स्थानीयले भने आफूहरूलाई पूर्व सूचना र वैकल्पिक व्यवस्था बिना नै हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।  दीर्घकालदेखि बसोबास गर्दै आएको स्थानमा एक्कासि डोजर चलाउँदा जीवनयापन नै प्रभावित हुने अवस्था सिर्जना भएको उनीहरुकाे गुनासो छ ।

दिउँसो काठमाडौंका विभिन्न स्थानका सुकुम्वासी बस्ती भत्काइएको थियो । दिउँसो भत्काइएका बस्तीमा भने खासै अवरोध भएको थिएन । त्यसबाट हौसिएको सरकारी टोली जडीबुटी क्षेत्रमा पुग्दा भने स्थानीयको प्रतिरोधमा परेको छ ।