ललितपुर, बैशाख १३ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पूर्व अध्यक्ष तथा नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई ‘अविचलित निष्ठाको प्रतीक’ का रूपमा चित्रण गर्नुभएको छ।
अधिकारीको २७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले उहाँको राजनीतिक जीवन, संघर्ष र त्यागको स्मरण गर्नुभयो। उहाँले अधिकारीले जीवनभर सिद्धान्तप्रति अडिग रहँदै कठिन परिस्थितिमा पनि सम्झौता नगरेको उल्लेख गर्नुभयो।
कार्यक्रममा पोखरेलले मनमोहन स्मृति प्रतिष्ठानलाई संस्थागत बनाउन योगदान पु¥याएका दिवङ्गत व्यक्तित्वहरूलाई पनि सम्मानपूर्वक स्मरण गर्नुभयो। उहाँले हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा. गोविन्द थापा र लक्ष्मीदास मानन्धरको भूमिकाले अधिकारीका विचारलाई संस्थागत गर्न सहयोग पुगेको बताउनुभयो।
अधिकारीको राजनीतिक यात्राबारे चर्चा गर्दै पोखरेलले नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुअघि नै उहाँ आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्नुभयो। भारतमा रहँदा स्वतन्त्रता संग्राममा सहभागी भई जेल जीवन बिताएको प्रसंग उल्लेख गर्दै उहाँले अधिकारीको दृढ वैचारिक अडानको प्रशंसा गर्नुभयो।
नेपाल फर्किएपछि पनि पटक–पटक बन्दी जीवन र यातना भोग्नुपरे पनि अधिकारीले आफ्नो सिद्धान्तबाट पछि नहटेको पोखरेलले बताउनुभयो। हेलिकप्टर दुर्घटनापछि शारीरिक समस्या भोग्दा पनि उहाँले आत्मबल नहारेको उदाहरण प्रस्तुत गर्दै पोखरेलले अधिकारीको दृढता प्रेरणादायी रहेको धारणा राख्नुभयो।
उहाँका अनुसार वर्तमान राजनीतिक नेतृत्वले मनमोहन अधिकारीको जीवनबाट प्रतिकूल परिस्थितिमा पनि सिद्धान्त र निष्ठामा अडिग रहने पाठ सिक्न आवश्यक छ।













प्रतिक्रिया दिनुहोस्