काठमाडौं, वैशाख १३ । सरकारी सार्वजनिक खरिद प्रणाली (e-GP) ह्याक गरी बोलपत्र (टेन्डर) सम्बन्धी विवरण हेरफेर गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले थप दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को विद्युतीय प्रणालीमा अनधिकृत पहुँच पुर्याई आर्थिक प्रस्ताव खोल्नु अगावै कागजातहरू थपघट तथा हेरफेर गरिएको उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो। यसअघि नै यस प्रकरणमा मुद्दा दर्ता भइसकेको छ।
पक्राउ पर्नेमा काठमाडौँ पेप्सीकोलाबाट ३० वर्षीय स्वदेश पोखरेल र बालाजुबाट ४१ वर्षीय प्रकाश ढुंगाना रहेका छन्। पोखरेल ईन्कोन प्रा.लि.का शेयरधनी तथा लेखापाल हुन् भने ढुंगाना कल्पवृक्ष बिल्डर्स प्रा.लि.का सञ्चालक रहेका प्रहरीले जनाएको छ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्युराे सिआईबीले जनाएको छ।
प्रविधिको दुरुपयोग गर्दै सरकारी प्रणालीमा अनधिकृत पहुँच पुर्याई सार्वजनिक खरिद प्रक्रियामा हस्तक्षेप गर्ने कार्यविरुद्ध प्रहरीले कडा निगरानी र कारबाही अघि बढाएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्